काँग्रेस उपसभापति पौडेलले भने, लौ है बन्न लागेको वार्ताको वातावरणलाई सदुपयोग गरौं
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सडकबाट सदनमा फर्केर संविधान निर्माणका लागि वार्ता गर्न प्रतिपक्षीलाई आह्वान गर्नुभएको छ । संविधानसभा स्थगित भएकाले प्रतिपक्षीले यस समयलाई सदुपयोग गरी वार्ताका माध्यमबाट सहमति गर्न अग्रसर हुनुपर्ने धारणा प्रकट गर्नुभयो । नेपाल प्रेस युनियन मोरङद्वारा विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा उहाँले छलफलका माध्यमबाट संविधान निर्माण गर्ने उद्देश्यले नै संविधानसभा स्थगित भएकाले ८–१० दिनको यस अवधिलाई सदुपयोग गरी ठोस सहमतिका लागि अग्रसर हुन प्रतिपक्षीलाई आग्रह गर्नुभयो । उहाँले मुलुक संविधान निर्माणतर्फ उन्मुख भइसकेकाले विधान निर्माणका विषयमा सहमति नभए अत्यधिक बहुमतद्वारा सम्पूर्ण नेपालीलाई मान्य हुने गरी संविधान जारी हुने दृढता प्रकट गर्नुभयो । उहाँले अहिले सबैभन्दा ठूलो चुनौतीका रूपमा सङ्क्रमणकाल रहेकाले यसको सुरक्षित अवतरण गराउनु सत्तापक्ष गम्भीर भएर लागेको स्पष्ट पार्नुभयो । मधेसको प्रतिनिधित्व गरेको भन्ने दलले देश र मधेसको हित नबुझेको र आपूmहरू बढी मधेसको हित चिन्तक रहेको उल्लेख गर्दै उपसभापति पौडेलले मुलुकको भौगोलिक यथार्थता र उन्नतिमा देशको सम्पूर्ण राज्यमा सबै हिस्सेदार हुन पाउने कि नपाउनेलगायतका विषयमा मधेसी दलले गम्भीररूपमा सोचेर अगाडि बढेमा संविधान निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले एकीकृत माओवादीलगायतका दलले बिना कार्यसूची आन्दोलन गरिरहेको प्रसङ्ग उल्लेख गर्दे नेता पौडेलले आन्दोलनलाई स्थगित गरी संविधान निर्माणको श्रेय पाउनका लागि सहमतिका लागि अगाडि आउन आह्वान गर्नुभयो ।