कांँग्रेस, एमालेले दम्भ नत्यागे आन्दोलन अघि जाने प्रचण्डको भनाई, बहुमतको भोटेताल्चा लगाएर वार्तामा बोलाएको दाबी
एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांँग्रेस र नेकपा एमालेले बहुमतको दम्भ र अहङ्कार नत्यागेसम्म एमाओवादीलगायत ३० दलीय मोर्चाले सुरु गरेको शान्तिपूर्ण आन्दोलनका कार्यक्रम अघि बढ्ने चेतावनी दिनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घ कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले शान्तिपूर्ण आन्दोलनबाट पनि उहाँहरू झुक्नुभएन भने त्यो बीचमा जेजस्ता घटना हुन्छन् त्यसप्रति ती दुवै पार्टी जिम्मेवार हुने धारणा राख्नुभयो । बहुमतको भोटेताल्चा लगाएर वार्तामा बोलाउनुको कुनै अर्थ नहुने बताउँंदै अध्यक्ष दाहालले आन्दोलन रफ्तारमा अघि बढ्छ, जनताले गर्ने निर्णायक आन्दोलनका अगाडि उहाँहरू अन्तिममा झुक्नै पर्दछ भन्नुभयो । बाह्रबँुदे समझदारी, विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको भावनाअनुसार आन्दोलनकारी शक्तिबीच सहमति गरेर नयाँ संविधान जारी गर्नुको विकल्प नभएको विचार व्यक्त गर्दै उहाँले एमाओवादी संविधानका विवादित अन्तर्वस्तुमा अधिकतम लचिलो बन्दा पनि काँग्रेस र एमालेका केही नेतामा सहमतिप्रति तत्परता र जाँगर नदेखिएको बताउनुभयो । संविधान निर्माणमा अल्पमत र बहुमतको विषय विश्वका कुनै पनि मुलुकमा नभएको जिकिर गर्दै अध्यक्ष दाहालले ती दुवै पार्टीले सहमति भाँड्ने र सत्तामा बसिरहने मनस्थिति बनाइराखेकाले सहमतिको वातावरण बिग्रेको आरोप लगाउनुभयो ।