महाशिवरात्रीको दिन सेनादिवसको समारोहमा यस्तो देखियो दृश्य, राष्ट्रपतिबाट उत्कृष्टलाई पुरस्कार


???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????राष्ट्रपति डा रामवरण यादव महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिकमञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभयो । सो अवसरमा राष्ट्रपति डा यादवले त्यहाँस्थित वीर स्मारकमा माल्यार्पण गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गर्नुभयो । राष्ट्रपति डा यादव नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । राष्ट्रपति डा यादवले नेपाली सेना, सैनिक जनसम्पर्क निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही’ नामक वार्षिक पत्रिकाको विमोचन गर्नुका साथै फ्रि फल जम्पका विजयीलाई पुरस्कार प्रदान गर्नुभयो । फ्रि फल जम्पमा प्रमुख सेनानी ध्रुवप्रकाश शाह प्रथम हुनुभयो । द्वितीय पुरस्कार सुवेदार दिल्लीबहादुर खत्रीले प्राप्त गर्नुभएको थियो । नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । समारोहमा सेनाले निशान प्रदान कवाज, महाशिवरात्रि बढाइँ कवाजका साथै मार्चपास, सैनिकसम्बन्धी विविध कला, नृत्य र सङ्गीतको धून प्रदर्शन गरेको थियो । समारोहमा राइफल बढाइँअन्तर्गत छिटो लहरे, अर्धचन्द्र र क्रसिङ बढाइँ तथा तोपबाट समेत बढाइँ प्रस्तुत गरिएको थियो । उक्त अवसरमा सैनिक हवाई महानिर्देशनालयको हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शनसमेत गरिएको थियो । समारोहमा राजदल गणद्वारा पन्ध्र तोपको लहरे तथा पाँच तोपको एकठ्ठा बढाइँ पनि गरिएको थियो । त्यस्तै, युद्धभैरव गणद्वारा आतङ्ककारी विरुद्धको सफल कारबाही र उपत्यका पृतनाद्वारा खुकुरी ड्रिल प्रस्तुत गरिएको थियो । समारोहमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्नखालका सवारी साधन र हातहतियारको समेत प्रदर्शन गरिएको थियो । समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला र सभामुख सुवास नेम्वाङ पनि सरिक हुनुहुन्थ्यो । मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि र समाजका लब्धप्रतिष्ठित महानुभावको पनि सो अवसरमा उपस्थिति थियो । शिवरात्रि तथा सेना दिवसमा विशेष समारोहको अवलोकन गर्न टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो लागेको थियो । उक्त समारोहको केही टेलिभिजन स्टेसन तथा एफएम रेडियोले प्रत्यक्ष प्रसारण गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?