महाशिवरात्रीमा एघार लाखले गरे दर्शन, फितलो व्यवस्थापनको गुनासो
महाशिवरात्रि पर्वलाई व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोषले धेरै प्रयास गरेको भए पनि यस वर्ष पनि दर्शनार्थीले सहज रुपमा दर्शन गर्न पाएनन् । पाशुपत क्षेत्रमा अत्याधिक दर्शनार्थीको चापलाई व्यवस्थित गर्ने प्रयास भए पनि व्यवस्थित गर्न लाग्नेहरूका बीचमा नै समन्वयको अभाव देखिन्थ्यो । बिहान ३ः०० बजेदेखि नै दर्शनार्थी चाबहिल, विमानस्थललगायत स्थानबाट लामबद्ध भए पनि लगभग पूजा स्थलमा पुग्न सात आठ घन्टा पर्खन बाध्य हुनुपरेको दर्शनार्थीको गुनासो थियो । दर्शनका लागि ललितपुर खोकनाबाट पुग्नुभएका नारायणहरि महर्जन बिहान ७ः१५ बजेदेखि लाइनमा बसे पनि आफूले दिउँसो ४ः०० बजेसम्म लाइनमा बिताउनुपरेको बताउनुभयो । तेह्र वर्षयता लगातार रुपमा महाशिवरात्रिको दर्शन गरेको बताउँदै महर्जनले भन्नुभयो, “दर्शनार्थीलाई सहयोग पु¥याउन बर्सेनि प्रयास नगरिएको भने होइन तर जुन वर्ष पनि उत्तिकै फितलो व्यवस्थानको महसुस गर्नुपरेको छ ।” स्वयम्सेवकको परिचालन तथा उनीहरूको खटाइ भने निकै राम्रो भएको उहाँले बताउनुभयो । स्वयंसेवकका लागि धेरै सङ्घसंस्थाबाट परिचालन गरिएको भए पनि उनीहरूबीच नै समन्वयको अभाव अर्को समस्याका रुपमा देखिन्थ्यो । विशेष दर्शनार्थी प्रवेश पास बाहकलाई पनि स्वयंसेवकबीच उचित समन्वय नभएका कारण समस्यामा परेका धेरै घटना पशुपति परिसरमा देखिन्थे । सञ्चारमाध्यमलाई सुव्यवस्थित गर्न उपलब्ध गराइएका पास बाहकलाई पनि स्वंयसेवकले सहज रुपमा प्रवेश गर्न नदिएको सञ्चारकर्मीको गुनासो थियो । सञ्चारमाध्यमलाई पास उपलब्ध गराए पनि उनीहरूलाई सहज रुपमा समाचार सङ्कलनका लागि जाने वातावरण नरहेको ‘अरनिको टेलिभिजन’का समाचारदाता रोशन दानीले बताउनुभयो । समयको धेरै अभाव हुनेहरूका लागि आधा घन्टामा नै पूजा गर्ने विशेष व्यवस्थासहित रु एक हजार शुल्क लिइए पनि दर्शनार्थीले दुई घन्टा समयावधि पङ्क्तिमा खर्चनुपरेको गुनासो गरे । विरानगरबाट पशुपति दर्शका लागि आएका बलदेव मण्डलले आधा घन्टामा पूजा गरिसक्न पाउने भनिए पनि उचित व्यवस्थापनको अभावमा दुई घन्टा बिताइएको बताउनुभयो ।
दुई हजार बढीले शुल्क तिरे ः एघार लाख दर्शनार्थी
कोषका अनुसार लगभग दुई हजार ७०० दर्शनार्थीले रु एक हजार शुल्क बुझाएर पशुपतिनाथको दर्शन गरेका छन् । ती दर्शनार्थीसहित प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लगभग एघार लाखको सङ्ख्यामा दर्शनार्थीले दर्शन गरेको अनुमान गरिएको छ । यसबाट पशुपतिनाथप्रतिको आस्था र विश्वास बढेको देखिन्छ”कोषका सदस्यसचिव डा गोविन्द टण्डनले भन्नुभयो । पशुपति क्षेत्र विकास कोषले आफूहरूलाई गरेको व्यवस्थाप्रति ज्येष्ठ नागरिक खुसी देखिन्थे । दर्शनका लागि पशुपति जानुभएकी बानेश्वरकी सुष्मा उपाध्यायले ज्येष्ठ नागरिकका लागि गरिएको यो व्यवस्थाले आफूजस्ता धेरैलाई सहयोग पु¥याएको बताउनुभयो । पशुपति जाने दर्शनार्थीलाई खानेपानी, खाना तथा खाजाका लागि भण्डाराको व्यवस्था ठाउँ ठाउँमा गरिए पनि शौचालयको भने समस्या देखिन्थ्यो । दर्शनका लागि भित्र पसेका दर्शनार्थीलाई उचित व्यवस्थापनको अभावमा पस्नुभन्दा निस्कन कठिनाइ भएको दर्शनार्थी रमेश भण्डारीले बताउनुभयो । “पस्ने र निस्कने ठाउँ नै कता हो भन्ने अन्योलले आफूजस्ता धेरै दर्शनार्थीले समस्या भोग्नुप¥यो” उहाँले बताउनुभयो । विभिन्न संस्थाले संस्थागत रुपमा स्वंयमसेवक परिचालन गरी दर्शनार्थीलाई विभिन्न किसिमबाट सहयोग पु¥याउने प्रयास गरे । विभिन्न स्थानमा स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो । मन्दिर परिसरमा विभिन्न वेशभूषामा बसेका सन्न्यासी, हनुमान पनि दर्शनार्थीको आकर्षण बनेका देखिन्थे ।सन्न्यासीसँग तस्बिर खिंचाउनेहरूको पनि पशुपति परिसरमा निकै आकर्षण थियो । शिवजीको प्रसादका नाममा गाँजा किन्ने र खाने युवाहरूको पनि श्लेषमान्तक वन र आसपासका स्थानमा निकै भिड देखिन्थ्यो । पशुपति क्षेत्रलाई व्यवस्थित गराउनका लागि कोषले आफ्नो सक्रिय प्रयास जारी राखेको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले बताउनुभयो ।