नेपाली काँग्रेसको तेह्रौँ महाधिवेशन भदौ २४ गते देखि २८ गतेसम्म काठमाडौंमा गर्ने निर्णय
सत्तारुढ दल नेपाली काँग्रेसले पार्टीको तेह्रौँ महाधिवेशन भदौ २४ गते देखि २८ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ। यसै बर्ष सकिए पनि विधान अनुसार एक बर्ष थपिएको पार्टीको निर्वाचित केन्द्रीय कार्यसमितिको म्याद आगामी असोजको पहिलो साता सकिनेछ। महाधिवेशन अघि गर्नुपर्ने वडा, गाउँ, नगर, जिल्ला र क्षेत्रीय तहका अधिवेशनहरु साउन महिनाभित्र गरिसक्ने तयारी काँग्रेसको छ। संविधान निर्माण प्रक्रिया प्रति असहमति जनाउँदै एकीकृत माओवादीको नेतृत्वमा रहेको विपक्षी मोर्चा वार्ता प्रक्रिया छाडेर आन्दोलनमा रहेको समयमा सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले महाधिवेशनमा केन्द्रित हुने निर्णय गरेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले आगामी भदौ २४ गतेदेखि २८ गतेसम्म काठमाडौंमा पार्टीको तेह्रौँ महाधिवेशन गर्ने गरी कार्यतालिका अनुमोदन गरेको छ। काँग्रेस महाधिवेशनमा जुट्दा संविधान निर्माणमा असर नपर्ने नेताहरुको तर्क छ। महाधिवेशनअघि गर्नुपर्ने गाउँ, नगर र वडाको अधिवेशन साउनको १४ गते, क्षेत्रीय अधिवेशन २२ गते र जिल्ला अधिवेशन २६ गते गर्ने निर्णय काँग्रेसले गरेको छ।
यसअघि भएको १२ औं महाधिवेशनबाट चार बर्षका लागि निर्वाचित केन्द्रीय कार्यसमितिको म्याद सकिएपछि पार्टीको विधानमा भएको व्यवस्था अनुरुप एक बर्ष थप गरिएको थियो। सो समयावधि पनि आगामी असोज ५ गते समाप्त हुने भएपछि काँग्रेस भदौ भित्र महाधिवेशन गर्ने बाध्यात्मक अवस्थामा पुगेको नेताहरु बताउँछन्। १२ औँ महाधिवेशनका समयमा झन्डै सवा तीन लाख रहेको पार्टीको क्रियाशील सदस्य संख्यालाई यस पटक दोब्बर बनाउने तयारी रहेको नेताहरुले बताएका छन्। केन्द्रीय समितिको बैठकले महाधिवेशनका लागि क्रियाशील सदस्यताको वितरण यसै महिना भित्र पूरा गरी केन्द्रमा विवरणहरु पठाउन सबै जिल्ला समितिलाई निर्देशन दिएको छ।
साथै क्रियाशील सदस्यता वितरणका बारेमा परेका उजुरीहरु छानविन गर्न केन्द्रीय सदस्य नरहरी आचार्यको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। पार्टीको अनुशासन समितिले कार्वाहीको सिफारिस गरेका व्यक्तिहरुले दिएको पुनरावलोकन निवेदन, भातृ संगठनमा देखिएका विवाद, संविधान लेखन र सरकारका गतिविधि लगायतका बिषयमा फागुन १० गते बस्ने केन्द्रीय कार्यसमितिको अर्को बैठकमा छलफल हुने नेताहरुले बताएका छन्। यसैबीच, काँग्रेस महामन्त्री प्रकाशमान सिंहले सभापतिमा आफ्नो दाबेदारी रहने बताइसकेका छन् भने अन्य नेताहरुले पनि आन्तरिक गृहकार्य थालेका छन्। यस पटक सभापति पदमा सुशील कोइरालाले नलड्ने पक्कापक्की छ। कोइराला परिवारबाट को आउने र उपसभापति रामचन्द्र पौडेलको स्थिति के हुने लगायतका विषयमा विभिन्न अड्कल गर्न थालिसकिएको छ।