एसफिल्ड काउन्सिलले नेपाली समूदायलाई महत्व दिँदै, लाईब्रेरीमा नेपाली पुस्तक, अप्रिल १४ तारिखमा उद्घाटन
मार्च २२ को कम्युनिटी कार्निभलमा नेपाली समूदायले पनि सक्रिय सहभागिताजनाउने
एसफिल्ड । अष्ट्रेलियाको न्यू साउथवेल्स सिड्नीमा रहने नेपालीहरुको पहिलो रोजाईको गन्तव्य यही हो । प्रायः नेपालीहरु आउने वित्तिकै एसफिल्डमै बस्दछन् । अहिले सिड्नीमा स्थापित भएका व्यक्तित्वहरुको उद्गम स्थान यही एसफिल्ड हो । यसैले त एसफिल्डमा यतिबेला नेपाली समूदायको संख्या बढेको छ । र, एसफिल्ड काउन्सिलले पनि यस कुरालाई मान्यता दिँदै नेपाली समूदायका निम्ति विविध कार्यक्रम गरिरहेको छ । यसैक्रममा आगामी वैशाख १ गते अर्थात् अप्रिल १४ तारिखका दिन एसफिल्ड काउन्सिलको लाईब्रेरीमा नेपाली पुस्तक उपलब्ध हुने सुविधाको उद्घाटन गर्ने तयारी भएको स्थानीय युवा प्रतिनिधि अर्जुनमणि पौडेलले जानकारी दिनुभयो । यति मात्र होइन, नेपाली समूदायलाई काउन्सिलले सम्बोधन गरेरै आगामी मार्च २२ तारिखमा एसफिल्ड पार्कमा आयोजना हुने कल्चरल कार्निभलमा पनि सहभागी हुन निम्ता गरेको छ ।
नेपाली समूदाय सहभागी बन्ने तयारीमा छ । यी जानकारी गत शनिबार आयोजना गरिएको अभिभावक बिदाई तथा काउन्सिलले नेपालीहरुका निम्ति प्रदान गरेको हलको शुभारम्भ कार्यक्रममा दिइएको हो । उक्त कार्यक्रममा काउन्सिलको तर्फबाट मारियम ही सहभागी हुनुहुन्थ्यो । काउन्सिलले हल उपलब्ध गराउने, यहाँ बालबालिकाहरुको निम्ति नृत्य सञ्चालन गर्ने र अभिभावकहरुको भेलापनि हरेक साता आयोजना गर्ने यो प्रयास एसफिल्डमा रहेका सक्रिय युवाहरु तथा नेपालबाट आएका अभिभावकहरुको संगठित प्रयासले सफल बनेको थियो । यसै अन्तर्गत गत शनिबारबाटै नृत्य प्रशिक्षक उषा बारियाले बालबालिकाहरुको निम्ति नृत्य कक्षा सुरु गरिसकेकी छिन् । एसफिल्डमा नयाँ अभिभावकहरुलाई स्वागत र फर्किन लागेकाको बिदाई समेत गरिन्छ । शनिबार नै आयोजना गरिएको कार्यक्रममाअष्ट्रेलियाको बसाई सकेर फर्किन लाग्नुभएका अभिभावकहरुको तर्फबाट बोल्दै शंकरलाल राजभण्डारीले खुशी व्यक्त गर्नुभयो । केही समय अघि एसफिल्डमा रामचन्द्र भट्टराईको संयोजकत्वमा नेपाल अष्ट्रेलिया सम्पर्क समिति गठन गरिएको छ । यसले नेपाली समूदायलाई एकताबद्ध बनाउने र बालबालिकातथा नेपालबाट केही समयकालागि आउने अभिभावकहरुका निम्ति विविध कार्यक्रम गरिरहेको छ ।