काँग्रेसमा निर्वाचनको बेला बागी उम्मेद्वार बनेकाहरु सबैलाई आममाफी दिने निर्णय


congressनेपाली काँग्रेसे संविधानसभाको दोस्रो निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका र बागी मुद्दालाई सहयोग गरेका लगायतलाई कारबाहीका लागि अनुशासन समितिले सिफारिस गरेका सबै नेता कार्यकर्तालाई फुकुवा गरेको छ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस केन्द्रीय समितिको आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कारबाहीमा परेका करिब १८३ जना नेता तथा कार्यकर्तालाई कारबाही फुकुवा गरी निजहरूको क्रियाशील सदस्यता निरन्तर रहने गरी नवीकरण गराउने निर्णय गरेको हो । कारबाही फुकुवा गरिएका सबैले १३ औँ महाधिवेशनको प्रक्रियामा हुने पार्टीका सबै तहका निर्वाचनहरूमा भाग लिन पाउने भएको पार्टी मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिनुभयो । पार्टीको अनुशासन समितिको निर्णय उपर परेका पुनरावेदनको सम्बन्धमा, भ्रातृ संस्थाहरू, नेपाल तरुण दल, नेपाल महिला सङ्घ र नेपाल विद्यार्थी सङ्घको केन्द्रीय महाधिवेशन सम्बन्धमा, संविधान निर्माण र दलहरूको बीचमा भइरहेको वार्ता सम्बन्धमा र विविध शीर्षकमा हिजो र आजको बैठकमा छलफल भएको थियो । तेस्रो दिन बसेको बैठकमा बोल्ने अधिकांश पदाधिकारी तथा केन्द्रीय सदस्यले सहमतिमा संविधान जारी गर्न विभिन्न दलसँग भएका वार्ता र संवादका लागि पहल गर्नुपर्ने धारणा राखेका थिए । कतिपय केन्द्रीय सदस्यहरूले सरकारका कामकारबाहीबारे पनि टीका–टिप्पणी गरेका थिए । बैठकमा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, बालकृष्ण खाण, दीपकुमार उपाध्याय, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, पद्मनारायण चौधरी, उमाकान्त चौधरी, दिनबन्धु श्रेष्ठ, जीवनबहादुर शाही, कमला पन्त, अजयकुमार चौरसिया, मीन विश्वकर्मा, गगनकुमार थापा र गोविन्द भट्टराईले आ–आफ्नो धारणा राख्नुभएको थियो । अर्को बैठक यही फागुन १३ गते बिहान ८ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा पुनः बस्नेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?