दाङ र नवलपरासीका सुकुम्बासीको सहयोगार्थ रमाइलो साँझ हुँदै, पहिलो कार्यक्रम पर्थमा


Ramailoदाङ र नवलपरासीका भूमिहीन सुकुम्बासीहरुको निम्ति रोजगारमूलक तालिम र आय मूलक व्यवसाय सुरुवात गर्ने उद्देश्यका साथ अष्ट्रेलियामा रमाइलो साँझ हुने भएको छ । पर्थ, मेलबर्न, सिड्नी र क्यानबेरामा आयोजना गर्ने तय भएको यो कार्यक्रममा नेपालका चर्चित लोकगीत गायक राजु परियार, गायिका मीना लामा, मोडल सुष्मा अधिकारी र कमेडियन सुवोध गौतम सहभागी हुने जानकारी सोमबार सिड्नीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दिइएको छ । रेडियो जनादेश अष्ट्रेलियाले विभिन्न संघ संस्थाको सहकार्यमा सञ्चालनगर्न लागेको रमाइलो साँझको पहिलो संस्करण आगामी फेुब्रुअरी २८ तारिखमा पर्थमा हुनेछ । त्यसपछि क्यानबेरामा ८ मार्चमा दोस्रो रमाइलो साँझ हुनेछ भने १४ मार्चमा मेलबर्नमा र १५ मार्च सिड्नीमा रमाइलो साँझ आयोजना हुनेछ । पत्रकार सम्मेलनमा रेडियो जनादेश अष्ट्रेलियाकाअध्यक्ष शरद खरेलले दर्शकहरुलाई मनोरञ्जन दिनु नै कार्यक्रमको उद्देश्य भएपनि त्यसबाट प्राप्तहुने रकमलाई भने परोपकारी काममा लगाइने बताउनुभयो । यस्तो कार्यको सञ्चालन गर्नका निम्ति दाङ र नवलपरासीका स्थानीय संघ संस्थासँग सहकार्य सुरु भइसकेको पनि खरेलको भनाई छ । रेडियो जनादेश अष्ट्रेलियाका महासचिव धर्मराज अधिकारीले नेपालबाट आएकाकलाकारका साथै स्थानीय कलाकारहरुको पनि सहभागितामा कार्यक्रमगर्न लागिएको जानकारी दिनुभयो । यसैबीच, पर्थको रमाइलो साँझको तयारी पूरा भएको छ भने नेपालबाट कलाकारहरु २६ फेब्रुअरी मापर्थ आइपुग्दैछन् । एमएनटीभीसँग कुरा गर्दै लोकगायक राजु परियारले भूमिहीनहरुको निम्ति आयोजना गरिएको कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको प्रतिक्रिया दिनुभयो । यस्तै गायिका मीना लामाले पनि दर्शकहरुलाई सहभागी हुन आह्वानगर्दै एकल र दोहोरी लोकगीतबाट भरपूर मनोरञ्जन गराउने प्रतिक्रिया दिनुभएको छ । कार्यक्रमको टीभी पार्टनर एमएनटीभी रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?