पूर्वराष्ट्रपतिलाई आतंकवादी गतिविधि गरेको भन्दै जेल हालिएको पुष्टि
मालद्वीपका पूर्व राष्ट्रपति मोहम्मद नासिदलाई आतङ्कवादी क्रियाकलापमा सम्लग्नताको आधारमा पक्राउ गरिएको जानकारी मालद्वीपले दिएको छ । उहाँको पक्राउको विषयलाई लिएर संयुक्त राज्य अमेरिका र भारतले चासो व्यक्त गरेपछि मालद्वीप सरकारको सो भनाइ आएको हो । उहाँलाई गत आइतबार पक्राउ गरिएको छ र प्रहरी हिरासतमै राखिएको छ । त्यस घटनाका बारेमा अमेरिका र भारतले चासो व्यक्त गरेका थिए । उहाँको पक्रउका बारेमा गरिएको सो प्रतिक्रियामा मालद्वीप सरकारको यो स्पष्टीकरण आएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । उता धरौटीमा छोड्नेबारेमा त्यहाँको अदालतले सोमबार निर्णय गर्ने बताइएको छ । अमेरिकाले उहाँको रिहाइको माग गरेको छ । उसले विपक्षी राजनीतिज्ञ एवम् दलहरूप्रति पनि विश्वासको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । साथै अमेरिकाले मालद्वीप सरकारलाई प्रजातन्त्रप्रतिको प्रतिबद्धता, कानुनी शासन तथा प्रजातान्त्रिक मूल्य मान्यताप्रति ध्यानदिन पनि आग्रह गर्नुभएको समाचारमा जनाइएको छ । मालद्वीपका पूर्व राष्ट्रपति एवम् त्यहाँको विपक्षी दलका नेता मोहम्मद नासिदलाई आइतबार पक्राउ गरिएको थियो । उहाँलाई धरौटीमा छोड्नेबारेमा सोमबार अदालतले अस्वीकार गरेको बताइएको छ । सोमबार भएको सुनुवाइमा उहाँको जमानत अस्वीकार भएको समाचारमा जनाइएको हो । उहाँलाई थप अनुसन्धानका लागि थुनामा राख्नुपर्नेमा आदेश दिएको छ । मालद्वीपका पूर्व राष्ट्रपति मोहमद नासिदले तीन वर्ष अघि आफू पदमा रहेको समयमा एक न्यायाधीशलाई गैरकानुनी रूपमा पक्राउ गरेको आरोपमा उहाँलाई अहिले आएर प्रहरी हिरासतमा लिइएको हो । उहाँमाथि आतङ्कवादमा संलग्न रहेको आरोप लगाइएको छ । आतङ्क नियन्त्रण कानुनअनुसार प्रहरीले आइतबार पक्राउ गरेको मालद्वीप सरकारले जनाएको छ । उहाँ सन् २००८ मा त्यहाँको राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । तर उहाँको कार्यकाल नै नसकिँदै प्रहरी तथा सेनाले उहाँविरुद्ध विद्रोह गरी जबर्जस्ती पदबाट हटाइएको थियो । मुलुकमा प्रजातान्त्रिक रूपमा निर्वाचित पहिलो राष्ट्रपतिका रुपमा रहनुभएका उहाँलाई यसरी सरकारले अकस्मात् पक्राउ गरेकामा सयौँ प्रदर्शनकारीले उहाँको सो पक्राउको विरोध गरेका थिए । आफ्ना कार्यकर्ताको व्यापक मात्रामा विरोधपछि उहाँलाई सोमबारै प्रहरीले अदालतसमक्ष उपस्थित गराएको थियो । अदालतले उहाँको जमानत नस्वीकारेको समाचारमा जनाइएको छ ।