सिड्नीमा नारी निकुञ्जले महिला हिंसा अन्त्यबारे अन्तरक्रिया गर्दै


Nari Nikunjaआगामी मार्च ८ तारिख आइतबारका दिन सिड्नीमा नेपाली नारीहरुले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अन्तरक्रिया गर्ने भएका छन् । नारी हिंसा अन्त्यका लागि हाम्रो अभियान नाम दिइएको यस अन्तरक्रियाको प्रमुख अतिथि अष्ट्रेलियाका लागि नेपाली राजदूत रुद्रकुमार नेपाल हुनुहुनेछ । यसैगरी समूदायका अगुवाहरु पनि कार्यक्रममा सहभागी बन्नुहुनेछ । नेपालमा अहिले पनि महिलाहरुमाथि हुने गरेका हिंसाका घटना घट्न सकेका छैनन् । पछिल्लो उदाहरण दुई किशोरीमाथि गरिएको तेजाब आक्रमण हो । काठमाडौं जस्तो देशको राजधानी र बसन्तपुरजस्तो सुरक्षाका निम्ति अत्यन्तै ध्यान दिइएको ठाउँमा त महिला भएकै कारण यस्तो आक्रमण गरिन्छ भने अन्यत्रको अवस्था के होला आफैं कल्पना गर्न सकिन्छ । यस्तै, महिलाहरुको संख्या यस पटकको संविधानसभामा अघिल्लोभन्दा कम छ । दलहरुले ३३ प्रतिशत आरक्षणको कुरा गरेपनि कसैलपनि त्यो बाचा पूरा गर्न सकेनन् । समान सहभागिता त टाढाको विषय बनेको छ । यिनै विषयमा अन्तरक्रिया गरी नेपालमा बन्न लागेको संविधानमा समान अधिकारका लागि दूतावासमार्फत ध्यानाकर्षण गराइने नारी निकुञ्जले जानकारी गराएको छ। अष्ट्रेलियामै पनि नेपाली समूदायका महिलाहरुको अवस्थाका विषयमा अन्तरक्रियामा विभिन्न वक्ताहरुले धारणा राख्ने र यदि नेपाली समूदायका महिलामाथि विभेद भएको छ भने त्यस्तो विभेदलाई कसरी अन्त्य गर्ने विषयमा पनि छलफल गरिनेछ । हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?