मनकामना मन्दिरमा १० जनाको टोलीबाट क्षमा पूजा, जीर्णोद्धार सुरु
मनकामना मन्दिर जगैदेखि जीर्णोद्वारका लागि आज मन्दिर परिसरमा क्षमा पूजा गरिएको छ । काठमाडौँबाट मुसुम वज्राचार्य नेतृत्वको १० जना गुरुको टोलीले क्षमा पूजा गर्नुभएको हो । आज बिहान १० बजेदेखि करिब तीन घन्टा क्षमा पूजा गरिएको छ । मन्दिर बाहिर प्राङ्गणमा तान्त्रिक पूजा र मन्दिरभित्र वैधिक विधिअनुसार पूजा सम्पन्न गरिएको मन्दिरका पुजारी इन्शान थापाले जानकारी दिनुभयो । साथै मन्दिर प्राङ्गणमा होमहोमादि पनि गरिएको छ । ‘क्षमा पूजा गरियो’ थापाले भन्नुभयो, “अब साइत हेराएर दुई हप्ताभित्र गजुर झिक्ने तयारी छ ।” शुक्लपक्षको साइत हेरेपछि मन्दिरको गजुर झिक्ने तयारी जीर्णोद्वार समितिले गरेको छ । गुरुहरूले नै मन्दिरको गजुर झिक्ने साइत हेर्ने जीर्णोद्वार समितिका अध्यक्ष नरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । “फागुनभित्रै गजुर झिक्छौँ” उहाँले भन्नुभयो, “गजुर झिकेपछि मन्दिर भत्काउन सुरु गरिन्छ ।” कालो बोकाको बलि चढाएपछि क्षमा पूजा सुरु गरिएको हो । मनकामना मन्दिर ६.५ इन्च दक्षिण पश्चिम र मन्दिरको गजुर नौ इन्च ढल्किएपछि जीर्णोद्वार गर्न लागिएको हो । करिब रु १३ करोड लागतमा एक वर्षभित्र मन्दिर जीर्णोद्वार गरिने समितिका सचिव प्रेम श्रेष्ठले जानकारी दिनुभयो । विद्यमान संरचनालाई परिवर्तन नगरी जस्ताको त्यस्तै मन्दिर पुनःनिर्माण गर्न लागिएको हो । मन्दिरको छानोमा ११ किलो सुनको जलप लगाउने समितिले तयारी गरेको छ । मन्दिरमा क्षमा पूजा गर्न र क्षमा पूजा अवलोकनका लागि भक्तजन, मन्दिर वरपर घर भएका स्थानीय बासिन्दा भेला भएका छन् । पुरातत्व विभागका कर्मचारी पनि क्षमा पूजा अवलोकनका लागि मन्दिर परिसर आएका छन् । जीर्णोद्वारका क्रममा पनि पूजा नरोकिने पुजारी थापाले जानकारी दिनुभयो । मन्दिर जीर्णोद्वारका लागि आवश्यक सामग्री सङ्कलन भइसकेको समितिले जनाएको छ ।