मङ्गलबारदेखि मौसममा सुधार आउने – उच्च भेगमा भारी हिमपात हुने


weatherमौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले देशभर बदली भएको जनाएको छ । न्यूनचापीय प्रणाली अरब सागरसँग सङ्गम (समिश्रण) हुँदा पश्चिमी वायुले ठूलो रूप लिएको हो । भूमध्यसागरबाट सो वायु नेपालको पश्चिमी भेग हुँदै देशभर प्रभाव पारेकाले डडेल्धुरा, दीपायल, धनगढी, सुर्खेत, नेपालगन्ज, जुम्ला, दाङ, भैरहवालगायतका स्थानमा वर्षात् भएको महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । भूमध्य सागरबाट आउने वायुले उच्च वायुमण्डलमा गतिविधि सञ्चालन गर्दा हावाको चाप बढेमा खराब मौसमको विकास भई यस किसिमको परिस्थिति उत्पन्न हुने गर्दछ । आजसम्म देशभर नै बदली भई, उच्च हिमाली भेगमा भारी हिमपात हुने छ भने मध्यमाञ्चल तथा पूर्वी क्षेत्रका पहाडी भेगमा आंशिक हिमपात हुने छ । सो वायुको प्रभाव कायम रहँदासम्म काठमाडौँलगायतका पहाडी स्थानमा केही चिसो बढ्ने छ । मौसमविद् कँडेलले वायुको प्रभाव मङ्गलबारबाट कम हुँदै जाने र मौसममा पनि सुधार आउने जानकारी दिँदै त्यसपछि चिसो हट्ने तथा गर्मी बढ्न थाल्ने बताउनुभयो । डिसेम्बर, जनवरी र फेब्रुअरी जाडोको मौसम भएकाले महाशाखाले अहिले भएको चिसो तथा फाटफुट वर्षालाई सामान्य मानेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?