बानेश्वरमा प्रहरीले योजनाबद्ध आक्रमण गरेको प्रचण्डको आरोप, अझै पनि वार्ताका लागि तयार
सरकारले योजनावद्ध रूपमा आफ्ना नेता तथा कार्यकर्तामाथि आक्रमण गरेको एकीकृत नेकपा(माओवादी)ले आरोप लगाएको छ । शनिबार नयाँबानेश्वरमा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले गरेको हस्तक्षेपमा एमाओवादीका नेता गङ्गानारायण श्रेष्ठलगायत तीसभन्दा बढी नेता तथा कार्यकर्ता घाइते भएका थिए । घाइतेहरूको कान्तिपुर, निजामती र वीर अस्पतालमा उपचार भइरहेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कान्तिपुर अस्पतालमा पुगी नेता श्रेष्ठको स्वास्थ्य स्थितिका बारेमा जानकारी लिनुभएको थियो । नेता श्रेष्ठको स्वास्थ्य स्थितिको बारेमा जानकारी लिएपछि सञ्चारकर्मीसँग अध्यक्ष दाहालले सत्तारुढ दलको व्यवहार अझै पनि सहमतिका आधारमा अगाडि बढ्न तयार नभएको बताउनुभयो । बहुमतीय प्रक्रियालाई स्थगन गरेर सहमतिका आधारमा अगाडि बढ्न सत्ताधारी तयार नभए थप सशक्त आन्दोलनको आवश्यकता रहेकोमा जोड दिँदै उहाँले शनिबार बानेश्वरमा गरिएको प्रहरी हस्तक्षेप त्यसैको परिणति भएको बताउनुभयो । प्रहरीका उच्च अधिकारीसँग छलफल गर्दै गर्दा एक्कासी हस्तक्षेप भएको र नेताहरूमाथि नै छानी–छानी प्रहार गरिएको उहाँको भनाइ छ । एमाओवादी प्रवक्ता दीनानाथ शर्माले प्रहरी हस्तक्षेमा परेर घाइते भएका नेता तथा कार्यकर्ताको निःशुल्क उपचार गर्न माग गर्नुभएको छ । “बिना कुनै आधार निषेधित क्षेत्र तोडेको आरोपमा नेता तथा कार्यकर्तामाथि जानी–जानी प्रहार गरिएको छ । त्यस क्षेत्रमा रहेका प्रहरीका अधिकृत तथा आक्रमणकारी प्रहरीलाई कारबाही हुनुपर्छ”–प्रवक्ता शर्माले भन्नुभयो ।
वार्तामा बस्न तयार छौँ ः अध्यक्ष दाहाल
एमाओवादी अध्यक्ष दाहालले सरकारलाई आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने जानकारी गराएको भए पनि शान्तिपूर्ण ¥यालीसहितको जुलुसमाथि आक्रमण गरिएको भन्दै त्यसको भत्र्सना गर्नुभयो । काँग्रेस–एमाले बहुमतको आडमा जबर्जस्ती पेलेर अघि बढ्न खोजेकाले समस्या आएको बताउँदै उहाँले भन्नुभयो – सरकारले सहमतिमा संविधान बनाउने वातावरण बनाए हामी वार्तामा बस्न तयार छौँ । घाइतेहरूलाई भेट्न एमाओवादी नेताहरू टोपबहादुर रायमाझी, वर्षमान पुन, जनार्दन शर्मा, प्रवक्ता दीनानाथ शर्मा, अग्नि सापकोटा, हिसिला यमीलगायत अस्पताल पुग्नुभएको थियो ।