बोरिस नेमत्सोभको हत्याको राष्ट्र सङ्घद्वारा निन्दा
गत शुक्रबार राति राजधानी मस्कोमा रसियाली राजनीतिक विपक्षी नेता बोरिस नेमत्सोभको हत्या भएकोमा राष्ट्र सङ्घीय महासचिव बान कि मुनले निन्दा गर्नुभएको छ । महासचिब मुनका प्रवक्ताद्वारा शनिबार प्रकाशित एक विज्ञप्तिमा बोरिसको बर्बर हत्याले मुनलाई ज्यादै दुःखी र स्तब्ध बनाएको जनाइएको छ । बोरिसको हत्याकाण्डउपर रुसले निष्पक्ष छानबीन, अनुसन्धान गर्ने र हत्यारा तथा मतियारलाई न्यायको कठघरामा छिट्टै उभ्याइनेमा महासचिव विश्वस्त हुनुभएको समेत उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । गत शुक्रबार मध्यराततिर बोरिस नेमत्सोभलाई मस्कोको प्रमुख व्यापारिक केन्द्रमा चार पटक गोली हानी हत्या गरिएको र घटनास्थलमा गोलीका ६ वटा खाली खोका पाइएका थिए । बोरिसको हत्यापछि रुस सरकारले घटनाको विस्तृत छानबीन, अनुसन्धान गर्न एउटा उच्चस्तरिय समिति गठन गरेको र सो समितिले आफ्नो कार्य सुरु गरिसकेको छ । रुसलाई राजनीतिक अस्थिरता तर्फ धकेल्न हो वा युक्रेनको आन्तरिक मामिलाको असर बोरिसको हत्यासम्म आइपुगेको हो वा बोरिस व्यक्तिगत रुपमा संलग्न ठूला व्यापारिक व्यावसायिक गतिविधिमा कसैसंग झै झगडा परेर हो वा अन्य के कारण हो, यसबारे विस्तृत अध्ययन, अनुसन्धान गरिने समेत जनाइएको छ । हत्या हुनुभन्दा केही घण्टाअगाडि नेमत्सोभले रसियाली जनतालाई प्रतिपक्षीले योजना गरे बमोजिमको प्रमुख भेलाका लागि सडकमा आउन आग्रह गर्नुभएको थियो ।