एमालेको स्थायी समिति बैठक आज पनि, विपक्षीले गाली गर्नु एमाले ठूलो शक्ति हुनाको प्रमाण भएको अध्यक्ष ओलीको प्रतिक्रिया
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अन्य पार्टीमा रहेर पीडाको जीवन बिताउनुभन्दा आफ्नो पार्टीमा फर्कन पूर्व एमाले नेता–कार्यकर्तालाई आह्वान गर्नुभएको छ । एमालेबाट एमाओवादीमा प्रवेश गरी पुनः प्रवेश गर्नुभएका वामपन्थी नेता राधाकृष्ण मैनाली र सङ्घीय समाजवादीका उपाध्यक्ष भई पुनः पार्टीमा फर्कनुभएका विजय सुब्बालाई केन्द्रीय सदस्यको शपथ खुवाउँदै अध्यक्ष नेता ओलीले एमालेमा फर्कने वा नवप्रवेशीलाई उचित सम्मान, सुरक्षा र क्षमताअनुसारको भूमिका दिइने विश्वास दिलाउनुभयो । मैनाली र सुब्बालाईस्थायी कमिटीको आइतबारको बैठकले केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो । तीस दलीय मोर्चाको यही फागुन १६ गतेको सभामा एमालेमाथि विपक्षी नेताले आक्रोश व्यक्त गर्नुलाई एमाले झन् बलियो पार्टी हुनाको प्रमाण भएको रूपमा व्याख्या गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “तीस दलीय मोर्चासँग भिड्न एमाले एक्लै तयार छ, ठूलो शक्तिसँग जुध्न नसकेपछि अहिले उनीहरू आँसु छारेर पीडा व्यक्त गर्दैछन् ।” एमालेले कसैलाई सम्पति वा घर घडेरी दिन्छ भन्दै कार्यकर्ता तयार नगरेको स्पष्ट गर्दै उहाँले प्रलोभनका आधारमा अडिने शक्ति आफ्नो पार्टी नभएको जिकिर गर्नुभयो ।
गुटबन्दी नगर्न मैनालीको आग्रह
कार्यक्रममा नेता मैनालीले आफूलाई विगतमा एमालेले धेरै पटक गुटबन्दीको सिकार भई अपमान सहनु परेको गुनासो गर्दै अब चाहिँ बहकेर अन्यत्र नजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । अर्का नेता सुब्बाले पनि पार्टी छाडी २० महिना सङ्घीय समाजवादी पार्टीमा रहेर आफूले ठूलो गल्ती गरेको भए पनि आइन्दा त्यस्तो गल्ती नगर्ने बताउनुभयो ।
प्रक्रिया अघि बढाउन काँग्रेसले भूमिका खेल्नुपर्ने
यसैबीच वैकल्पिक केन्द्रीय सदस्यको मनोनयन र केन्द्रीय सदस्यको कार्यविभाजनबारे हुने भनिएको स्थायी समितिको आजको बैठकमा समसामयिक राजनीतिका सम्बन्धमा छलफल भएकाले साङ्गठनिक कार्यसूचीमा कुनै निर्णय नभएपछि बैठक आज बिहान ११ बजे पुनः बस्नेछ । बैठकमा आइतबार नेपाली काँग्रेस र एमालेका नेताबीच भएको छलफलबारे अवगत गराइएको थियो । काँग्रेसको आसन्न महाधिवेशनको असरका कारण संविधान निर्माणको प्रक्रियामा आफूहरूसँगको सहमतिअनुसार सो पार्टी अघि बढ्न नसकेको पाइएको विश्लेषण गरिएको एमाले सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । बैठकमा संविधान नबन्ने स्थिति भएमा एमाले सरकारमा बसिरहनाको अर्थ नहुने विषयमा पनि छलफल भएको बुझिएको छ