दिपंकर बुद्धहरुलाई बोलाई सम्यक महादान, राष्ट्रपति पनि उपस्थित
काठमाडौँ उपत्यकाका तीनै जिल्लाका दीपङ्कर तथागतहरूलाई आमन्त्रण गरी सम्यक महादान सम्पन्न गरियो । महादानका लागि उपत्यकाका विभिन्न महाविहारका सम्यक (दीपङ्कर तथागत) तथा क्वाचपाल (गन्धुरी) देवतालाई लगनखेल बसपार्कस्थित चौरमा भेला गराइएको थियो । महादानमा राष्ट्र प्रमुखको उपस्थिति रहने परम्पराअनुसार राष्ट्रपति डा रामवरण यादव सो महादान कार्यक्रममा उपस्थित हुनुभएको थियो । उहाँले त्यहाँ उपस्थित गराइएको स्वयम्भू महाचैत्यको दर्शन गरी त्यसको पूजा अर्चना गर्नुभएको थियो । त्यसपछि उहाँले त्यहाँ निर्मित दानशालाको निरीक्षण पनि गर्नुभएको थियो । उहाँले विश्व शान्तिको कामना गर्दै आयोजना गरिएको सो पवित्र महादान कार्यक्रमको सफलताको पनि कामना गर्नुभयो । उक्त कार्यक्रममा उहाँले महादान सम्पन्न गर्न खटिएका विभिन्न महानुभावलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । वज्रयान धार्मिक विधिअनुसार स्वयम्भूमा विशेष पूजा गरी त्यहाँबाट स्वयम्भू महाचैत्यको प्रतिकृतिलाई आइतबार बिहानै बाजागाजासहित ल्याउने काम भएको महादान कार्यक्रमका संयोजक धर्मबहादुर शाक्यले जानकारी दिनुभयो । आइतबार अपराह्नदेखि उक्त चौरको दानशालामा नेपालमण्डलका काठमाडौँ, ललितपुर, भक्तपुर, थिमि, चोभार र कीर्तिपुरका करिब ३६५ दीपङ्कर बुद्ध तथा बोधिसत्वका प्रतिकृतिलाई प्रवेश गराइएको थियो । प्रवेश गराउने क्रम आज बिहानसम्म चलेको थियो । ललितपुरको सोही ठाउँमा ९० वर्षअघि तीनै जिल्लाका दीपङ्कर बुद्धलाई सहभागी गराई सम्यक महादान गरिएको थियो । नेपालमण्डलभित्रका काभ्रे र पनौतीका दीपङ्कर बुद्धलाई समेत आमन्त्रण गरी यस्तो महादान एक हजार वर्षअघि नेपाल संवत् १३५ मा गरिएको इतिहासमा उल्लेख छ । प्रतिकूल मौसमको ख्याल नगरी हजारौँ भक्तजन लामबद्व भएर दीपङ्कर तथागतको दर्शन र दान प्रदान कार्यक्रममा उत्साहपूर्वक सहभागी भएका थिए । तीन जिल्लाका विभिन्न विहारका प्रवज्याभिषेक लिएका गृहस्थ भिक्षुलाई यहाँ दान प्रदान गरिएको थियो । सम्यक महादानको आयोजनाले विश्वमा शान्ति आउने र सबै प्राणीको कल्याण हुने बौद्धहरूको विश्वास छ ।