होलीको दिन सडकमा ट्राफिकको सुरक्षा योजना यस्तो छ
फागु पूर्णिमा (होली)मा उपत्यकालाई दुर्घटनारहित बनाउन ट्राफिक प्रहरीले विशेष सुरक्षा अभियान सञ्चालन गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दका अनुसार फागुका दिन सवारी नियम उल्लङ्घन गर्नेलाई रु एक हजारसम्म जरिवाना हुने गरी पुर्जी जारी गर्ने, सवारी साधन नियन्त्रणमा लिइने र कागजात फिर्ताका लागि एक घन्टाको कक्षा अनिवार्य लिनु पर्नेछ । मापसे गरी सवारी चलाउने, तीब्र गतीमा सवारी चलाउने, हेलमेट नलगाई दुईपाङ्ग्रे सवारी चलाउने, ओभरलोड वा मोटरसाइकलमा दुई जनाभन्दा बढी मानिस राखी चलाउने, ठूलो हर्न र ठूलो आवाजमा चलाउने, जिकज्याक गरी चलाउने, मोटरसाइकलाई मोडीफाई गरी चलाउने, अन्य गम्भीर खालका लापरवाही गरी सवारी चलाउनेलाई लक्षित गरी अभियान सञ्चालन गरिएको हो । कसैले मादकपदार्थ सेवन गरी सवारी चलाएको वा अन्य लापरवाही गरी सवारी चलाएको पाइएमा तत्कालै ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गरेमा उचित पुरस्कारको व्यवस्थासमेत गरिएको प्रमुख चन्दले बताउनुभयो । फागुका दिन उपत्यकालाई चार क्षेत्रमा विभाजन गरी प्रहरी नायब उपरीक्षकको नेतृत्वमा जाँच सञ्चालन गरिनेछ । उपत्यकाका ५३ स्थानमा ट्राफिक प्रहरी अधिकृतको कमान्डमा कम्तिमा पाँच जना ट्राफिक प्रहरी खटाई जाँचको व्यवस्था मिलाइएको छ । सो दिन सातवटा मोबाइल भ्यानसमेत परिचालन गरी जाँच गरिनेछ । गत वर्षको होलीका दिन १९ वटा सडक दुर्घटना भएकामा एक जना बालकको मृत्यु, २५ जना सामान्य घाइते र २८ वटा सवारी साधनमा क्षति पुगेको थियो । गत वर्ष होलीका दिन मादकपदार्थ सेवनका कारण १४ र तीब्र गतिका कारण दुई दुर्घटना भएका थिए ।