काँग्रेस एमालेका शीर्ष नेताको बैठक, वार्ताका लागि विपक्षीलाई आह्वान गर्ने, संविधानसभा बैठक पनि बोलाउने
प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (एमाले) ले एकीकृत नेकपा (माओवादी) लगायत विपक्षी दललाई सार्थक वार्ताका लागि पुनःआह्वान गर्ने निर्णय गरेका छन् । काँग्रेस र एमालेका शीर्ष नेताको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयुक्त बैठकले विपक्षी मोर्चालाई वार्ताका लागि आह्वान गर्ने र सँगसँगै अनिश्चितकालका लागि स्थगित संविधानसभाको बैठक छिट्टै बोलाउन सभाध्यक्ष सुवास नेम्वाङलाई आग्रह गर्ने निर्णय गरेका छन् । विपक्षी दललाई वार्ताका लागि आह्वान गर्ने र अनिश्चितकालका लागि स्थगित संविधानसभाको बैठक पनि चाँडो बोलाउन काँग्रेस र एमाले सहमत भएको बैठकपछि एमाले उपाध्यक्ष भीमबहादुर रावलले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । बैठकमा स्थगित संविधान निर्माणको प्रक्रियालाई कसरी अघि बढाउने भन्ने विषय छलफल हुनाका साथै संविधानसभालाई अनिर्णयको बन्दी बनाउनु हँुदैन भन्ने सम्बन्धमा सहमति भएको नेताहरूले बताएका छन् । एमाले सरकारबाट बाहिरिन लागेको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता रावलले सरकारबाट एमाले बाहिरिने भन्ने सञ्चारमाध्यममा आएका हल्ला निराधार भएको र एमालेले त्यस्तो निर्णय कहीँकतै नगरेको स्पष्ट पार्नुभयो ।
गत माघ ५ संविधानसभामा विपक्षी दलबाट भएको तोडफोडको घटनापछि प्रमुख दलबीच कुनै बैठक हुन नसकेका बेला प्रमुख दुई दलले विपक्षी दलसँग वार्ताको प्रक्रिया अघि बढाउन प्रयास गरेका हुन् । बैठकमा रोकिएको वार्ता प्रक्रियालाई निरन्तरता दिने विषयमा सहमति भएको जानकारी गराउँदै कानुन, न्याय, संविधानसभा तथा संसदीयमामिलामन्त्री नरहरि आचार्यले अनिश्चतकालका लागि स्थगित संविधानसभाको बैठक यथाशीघ्र बोलाउन अध्यक्ष नेम्वाङलाई आग्रह गर्ने निर्णय भएको जानकारी गराउनुभयो । वार्ता र प्रक्रियामध्ये कुन पहिले सुरु हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता आचार्यले वार्ता आफ्नो अधीनमा भएको र संविधानसभा बैठक भने अध्यक्ष नेम्वाङको हातमा रहेको बताउनुभयो ।