प्रधानमन्त्री कोइरालाले बालुवाटारमा सोमबार एनआरएन मुख्यालय भवनको जग हाल्नुहुने
गैरआवासीय नेपाली संघको मुख्यालय बालुवाटारमा बन्ने पक्का भएको छ । हुनतः केही समय अघि जग्गा किनिसकेपछि प्रधानमन्त्री कार्यालय अगाडि भवन बनाउने कुरा टुंगिएको थियो । तर, सोमबार यसको शिलान्यास गर्दै प्रधानमन्त्री सुशील कोइरालाले नै जग हाल्ने हुनुभएको छ । एनआरएन अध्यक्ष शेष घलेसहित अन्तर्राष्ट्रिय समन्वय समितिका पदाधिकारी यसका निम्ति काठमाडौं पुग्नुहुनेछ भने भवन शिलन्यास कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख नेताहरुसहित उद्योगपति, व्यापारी र समाजका प्रतिष्ठित व्यक्तिहरुलाई बोलाइएको छ । यतिबेला अष्ट्रेलियासहित विश्वका विभिन्न शहरमा एनआरएन भवन निर्माणका लागि सहयोग संकलन भइरहेको छ भने अध्यक्ष शेष घले जपानबाट भवन निर्माणको सहयोग संकलनपछि नेपाल पुग्नुहुनेछ । एनआरएनको यस कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्की सचिव रञ्जु वाग्ले, भवानी ओली लगायतका व्यक्तित्वहरु अष्ट्रेलियाबाट पुग्नुहुनेछ । अहिलेसम्म विश्वभरिबाट १८ करोडको प्रतिबद्धता आइसकेको र ७ करोड रुपैयाँ उठिसकेको ओसियाना क्षेत्रीय संयोजक विष्णु हमालले जानकारी गराउनुभयो । जग्गा महँगो परेका हुनाले लागत केही बढ्न गएको भएपनि १८ करोडको प्रतिबद्धता आइसकेको अवस्थामा समयमै भवन निर्माण सम्पन्न गर्न कुनै समस्या नहुने संयोजक हमालको भनाई छ ।