बन्द विमानस्थल खुलाउन के पहल भइरहेको छ ? नेपाली यात्रु मलेसिया, थाईल्याण्ड र सिंगापुरमा अलपत्र
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको टर्किस एयरलाइन्सको विमान धावनमार्गबाट हटाउन समय लाग्ने भएकाले अन्तर्राष्ट्रिय उडानहरू यतिबेला बन्द छन् । आज अपरान्ह ४ बजे मात्रै खोल्ने औपचारिक जानकारी छ । विमानस्थलमा आज आउनसक्ने भारतीय विमान हिजो नै किन ल्याउन सकिएन त ? यसको विषयमा पनि विमानस्थल कार्यालयले स्पष्ट पारेको छ । उसका अनुसार राति विमान अवतरण गर्नका निम्ति दुर्घटनाको क्रममा केही बत्तीहरु पनि भाँचिएका छन् । यसका कारण बत्ति मर्मतको लागि समय लाग्ने भएकोले दिउँसो मात्रै अवतरण गर्न सकिन्छ । उनीहरु भन्छन्, एउटा दुर्घटना भएको अवस्थामा अर्को विमानका लागि रिस्क लिन सकिन्न । यसैबीच, विभिन्न विमान कम्पनीमार्फत नेपाल आउन लागेका यात्रुहरु मलेििसया, थाईल्याण्ड, सिंगापुरमा यतिबेला रोकिन बाध्य भएका छन् । विमानस्थल खुल्नेबित्तिकै त्यसतर्फ उडाउनेभन्दै कम्पनीहरुले उनीहरुलाई विमानस्थलमै राखेका छन् । अपरान्ह ४ बजे पनि विमानस्थल नखुलेको अवस्थामा होटलमा राख्ने तयारी भइरहेको यात्रुहरुले जानकारी दिएका छन् । अवतरणका क्रममा विमान धावनमार्ग छेउको जमिनमा धस्सिएकाले हिलाम्मे जमिनबाट विमानलाई सुरक्षितरुपमा निकाल्न अफ्ठ्यारो हुनुका साथै आवश्यक उपकरण जुटाउन समय लागेकाले विमानस्थल बन्द भएको हो । मुख्य धावनमार्गमा अवरोध हुने गरी किनारको जमिनमा धस्सिएको विमान निकाल्न मुलुकभित्र कै विज्ञ तथा उपकरणबाट प्रयास गरिने र सम्भव नभए भारतबाट सम्बन्धित विज्ञको टोली र उपकरण ल्याइने विमानस्थल नागरिक उड्ययन कार्यालयले बताएको छ । धावनमार्गको आधा भाग सञ्चालनमा रहेकाले सोही आधा भागमार्फत भारतबाट मध्यमखालका जहाजबाट विज्ञ टोली र उपकरण ल्याउन सकिने विमानस्थल नागरिक उड्ययन कार्यालयका भरतप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ । विमानस्थलमा दैनिक ३५ अन्तर्राष्ट्रिय उडान भर्ने र सोही सङ्ख्यामा विमान अवतरण हुँदै आएका छन् । उक्त उडान तथा अवतरणहरूबाट दैनिक १२ हजार यात्रु आवतजावत गर्ने विमानस्थलमा आज भने कुनै विमानले उडान र अवतरण नगर्दा विमानस्थमा यात्रु अलमल्लमा देखिएका थिए । त्यसैगरी, आन्तरिकतर्फ दैनिक १५० वटा उडान र सोही सङ्ख्यामा विमान अवतरणबाट चार हजार यात्रु आवतजावत गर्दै विमानस्थलमा ढिला गरी केही सीमित विमानहरूले मात्र उडान भरेका थिए । अन्य सबै यात्रु विमानस्थलमा नै रहेकाले विमानस्थल वरपरसम्म यात्रुको खचाखच भिड थियो । विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय उडानका सबै विमान कम्पनीलाई आ–आफ्ना यात्रुको खानपीन र बसोबासको व्यवस्थापन गर्न आग्रह गरेको कार्यालयका प्रबन्धक पूर्णप्रसाद चुडालले बताउनुभयो ।
विमान दुर्घटनासम्बन्धी जाँचबुझका लागि समिति गठन
सरकारले टर्किस एयरलाईन्सको विमान दुर्घटनाबारे छानविन गर्न एक समिति गठन गरेको छ । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा गठित छानविन समितिमा वरिष्ठ विमान चालक बिएन अमात्य, नेपाल वायु सेवा निगमका इन्जिनियर चुँडामणि बस्याल र पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका बुद्धिसागर लामिछाने सदस्य रहनुभएको छ ।
पत्रकार सम्मेलनमा नागरिक उड्डयन प्राधिकरण (क्यान) का महाप्रबन्धक रतिशचन्द्रलाल सुमनले वायुयानलाई हडाउन अनवरत प्रयास गरिए पनि सम्भव नभएकाले उक्तवायुयानलाई उपकरणको सहायताले हटाउनका लागि स्वदेशी एवम् आवश्यकता परेमा विदेशी जनशक्तिसमेत परिचालन गरिने बताउनुभयो । “ठूलो जहाज भएकाले हटाउन समस्या भएको छ, यात्रु र व्यागेज तथा १७ हजार लिटल इन्धन हटाउदा पनि अझै १५० टन वजन छ, तर हामीसँग ७० टन मात्र तान्नसक्ने क्रेन छ, त्यसैले भारतबाट एयर क्राफ्ट ल्याउन लागिएको हो । भोलि बिहान ८ बजेभित्र उक्त एयर अवतरण भइसक्छ । यस्ता घटना विरलै मात्र हुन्छ, हामीसँग साधन कमछ, छिमेकी मुलुक भारत र थाइल्यान्डमा पनि यस्ता क्षमतावान एयर क्राफ्ट एक–एक वटा मात्र छन् आगामी दिनमा पाठ सिकेर तयारी अवस्थामा रहनुपर्छ”–उहाँले भन्नुभयो । महाप्रबन्धक सुमनले विमान के कारण दुर्घटना भयो, प्राविधिक समस्या थियो की थिएन भन्नेबारे छानबिनपछि मात्र भन्न सकिने उल्लेख गर्दै प्रारम्भिक अनुसन्धान अनुरुप भिजिविलिटीको कारणले पनि दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको बताउनुभयो । बाहिरी निरीक्षण अनुरुप विमानको दुई वटा इन्जिन खराब देखिएको जनाइएको छ । जहाज अवतरण गर्ने बेला एक हजार मिटर भिजिबिलिटी रहेको विमानस्थलले जनाएको छ । विमानले धावनमार्गको केन्द्रलाइन लिन नसकेका कारण दुर्घटना भएको अनुमान पनि गरेको छ । उक्त विमान अवतरण गर्ने क्रममा करिब २० मिनेट होल्ड गर्नु परेको थियो ।
एक करोडभन्दा बढीको क्षति
विमान अड्केर धावनमार्ग अवरुद्ध भई अन्तर्राष्ट्रिय उडान अवरुद्ध हुँदा नागरिक उड्डयन प्राधिकरणलाई रु एक करोड बढीको घाटा भएको छ । विमानस्थलमा दैनिक ४० वटा अन्तर्राष्ट्रिय उडान हुने र सोही सङ्ख्यामा अवतरण हुने हुँदा औषतमा दैनिक रु एक करोड बढी घाटा हुने महाप्रबन्धक सुमनले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय उडानका १२ हजार यात्रु रोकिएको विमानस्थलले जनाएको छ । आन्तरिक उडानतर्फ करिब पाँच घन्टा अवरुद्ध भएको थियो । जहाज दुर्घटना हुनुअघि बिहान पाँच वटा माउन्टेन फ्लाइट भएको थियो । तीमध्ये एक विराटनगर र चार वटा भरतपुर विमानस्थलमा राखिएको विमानस्थलले जनाएको छ ।