रङहरूको पर्व ‘फागुपूर्णिमा’ आज, प्रधानमन्त्रीबाट शुभकामना


holi1 copy copyप्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङहरूको चाड फागुपूर्णिमा पहाडी भेगमा आज र तराइ भेगमा भोलि भव्यताका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाड मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङहरू हालेर एक अर्कालाई रङ्गीन बनाएर मनाउँछन् । नेपालमा प्रचलित विभिन्न संस्कृतिमध्ये फागुपूर्णिमा आफ्नै विशिष्टता बोकेको संस्कृति भएको संस्कृतिविद् सत्यमोहन जोशीले जानकारी गराउनुभयो । होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलीका दहन गरिन्छ । राति होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ घोलेर एक अर्कामाथि फाल्ने प्रचलन प्राचीन कालदेखि चलि आएको हो । स–साना बच्चादेखि वृद्ध वृद्धासम्म सबैले होलीको मजा लिने गर्दछन् । होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर एक आपसमा खुसी साट्ने दिनका रुपमा मनाइन्छ । फागुपूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढका हुल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै उत्साह र उमङ्गका साथ रङ्गीन पर्वका रूपमा मनाउने पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर(विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने यो पर्व पूर्णिमाको रातमा उक्त चीर ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ । फागुन शुक्ल अष्टमीको दिन शनिबार भीमसेन मन्दिरमा राखिएको लिङ्ग(लग)लाई टोल टोलमा पसलै पिच्छे घुमाएर पूजा गरी पुनः मन्दिरको पाटीमा राखिने परम्परा छ । संस्कृतिविद् तीर्थ श्रेष्ठका अनुसार सत्ययुगमा भगवान विष्णुका भक्त प्रल्हादलाई मार्नका लागि हिरण्यकश्यपुले विभिन्न जालहरू बुन्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपुले आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी होलिकालाई प्रल्हाद्लाई काखमा लिएर आगोमा बस्न लगाउँदा भक्त प्रल्हादलाई केही नभएको तर होलिका जलेर नष्ट भइ असत्य माथि सत्यको विजय भएको उपलक्ष्यमा यो पर्व मनाइने गरिएको हो । होलीमा प्रयोग गरिने रङहरूको आ–आफ्नै महत्व रहेको पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष गौतमको भनाइ छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ । पहेँलो रङ भगवान विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान गणेशलाई सबै रङ मन पर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ ।
प्रधानमन्त्री सुशील कोइरालाले फागु पूर्णिमा अर्थात होली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । हाम्रा चाडपर्वहरूले विविधतायुक्त नेपाली समाजमा सद्भाव बढाउदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले सन्देशमा नेपाली समाजलार्ई एकताबद्ध गर्न र आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरÔण र सम्बर्धन गर्न पनि अभिप्रेरित गरिरहेको छ भन्नु भएको छ । असत्यमाथि सत्य र खराबमाथि असल पÔको विजयको रुपमा लिइने होली पर्व मुलुकभर हर्षोल्लासपूर्वक मनाइने राष्ट्रिय पर्व हो भन्दै उहाँले रङ्गको पर्व मानिने यस पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन पनि प्रेरित गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?