विश्वकप छनौट खेल्न भारत जाने राष्ट्रिय फुटबल टोलीको विदाई


footballअखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले विश्वकप छनौट खेल्न भारत जान लागेको राष्ट्रिय फुटबल टोलीलाई आज विदाई गरेको छ । राष्ट्रिय खेलकूद परिषद्मा आयोजित कार्यक्रममा राखेपका सदस्य सचिव युवराज लामाले टोलीका कप्तान सागर थापालाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै विदाई गर्नुभयो । टोलीलाई विदाईका क्रममा शुभकामना दिँदै सदस्य सचिव लामाले देशका लागि खेल्न पाएको अवसरलाई सही सदुपयोग गर्न खेलाडीहरुलाई आग्रह गर्नुभयो । कप्तान सागरले सबै खेलाडी फिट भएकाले राम्रो तयारी भएको र सकेसम्म राम्रो नतिजा लिएर मात्र देश फर्कने वाचा गर्नुभयो । भारत जाने टोलीमा २३ खेलाडी र सात अधिकारीसहित ३० सदस्य हुने एन्फाले जनाएको छ, जसमा कप्तान सागरसहित विकास कुथु, किरण चेम्जोङ, रितेश थापा, विराज महर्जन, सन्दीप राई, रविन श्रेष्ठ र रोहित चन्द छन् । त्यसैगरी, खेलाडीहरु विक्रम लामा, भोलानाथ सिलवाल, राजु तामाङ, जगजित श्रेष्ठ, अनिल गुरुङ, सन्तोष साहुखल, भरत खवास, विमल घर्तीमगर र जुमानु राई पनि टोलीमा छन् । अन्य खेलाडीमा, टोलीमा पहिलोपटक स्थान बनाएका अनन्त तामाङ, दिनेश राजवंशी, अञ्जन विष्ट, विशाल राई, हेमन गुरुङ र रञ्जित धिमाल पनि हुनेछन् । अधिकारीमा टोलीका मुख्य प्रशिक्षक ज्याक स्टेफानोस्की, सहायक प्रशिक्षक हरि खड्का तथा व्यवस्थापक रमेश रायमाझीलगायत छन् । सन् २०१८ मा रुसमा हुने विश्वकपको पहिलो चरणअन्तर्गतको ‘अवे म्याच’का रूपमा पहिलो लेग नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतविरुद्ध गुवाहाटीमा २२ मार्चमा खेल्नेछ भने १७ मार्चमा दशरथ रङ्गशालामा ‘होम म्याच’ खेल्नेछ । कुनै प्राविधिक कठिनाई नभएको खण्डमा टोली आजै कोलकाताकालागि प्रस्थान गर्ने र त्यहाँ दुई दिने अन्तिम तयारीका लागि गरिने प्रशिक्षणपश्चात मात्र गुवाहाटी जाने टोलीका सहायक प्रशिक्षक खड्काले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?