आइएसबाट इराकी सहर मुक्त गराउन कारबाही सुरु
इराकी सुरक्षाबलले मङ्गलबार इस्लामिक स्टेट (आइएस) लडाकूबाट टिक्रिट सहर मुक्त गराउनको लागि भीषण कारबाही सुरु गरेका छन् । सलाहुदिन प्रान्तको प्रान्तीय राजधानी टिक्रिटमा सुरक्षाबलद्वारा सुरु गरिएको सो कारबाहीको प्रान्तीय सुरक्षा स्रोतले जानकारी दिएको छ । इराकको राजधानी बग्दाददेखि १७० किलोमिटर उत्तरमा पर्ने सो सहरमा इराकी सैनिक र प्रहरीले सो सहरको छिमेकबाट आएका हजारौँ सिया र सुन्नीका सहायक सेनाको सहयोगमा सो कारबाही सुरु गरेका छन् । सुरक्षा निकायको अतिवादी आतङ्ककारीहरूसँग झडप सुरु भएको सैनिक स्रोतले नाम नबताउने शर्तमा सिन्ह्वा समाचार समितिलाई बताएका छन् । केही दिन यतादेखि इराकीबलले आइएस लडाकू लक्षित भारी बमबारीलगायत आक्रमणहरू सुरु गरेका छन् । पुनः कब्जाको लागि सैनिकले टिक्रिटमा कारबाही सुरु गरेको एक दिन पछाडि टिक्रिटको पूर्वी भागमा रहेको अल अलाम सहर सैनिकले नियन्त्रणमा लिएको थियो । सलाहुदिन प्रान्तको टिक्रिट सहर र अन्य प्रमुख सहरलगायत गाउँ पुनः कब्जाको लागि करिव ३० हजार इराकी सैनिकसहित हजारौँ स्थानीय जातीय सहायक सेनाको सहयोगमा गत एक हप्तादेखि भीषण कारबाही सुरु भएको छ । गत जुन ११ देखि सलाहुदिन प्रान्तको ठूलो भाग आइएस लडाकू समूहले नियन्त्रणमा लिएको छ ।