ब्रिसबेनमा भव्यतापूर्वक सकियो नेपाल महोत्सव
एनआरएन अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्य परिषद्ले आयोजना गरेको नेपाल महोत्सव भव्यतापूर्वक सकिएको छ । स्थानीय किंग जर्ज स्क्वाएरमा आयोजना गरिएको कार्यक्रममा नेपाली खाना, पोशाक र अन्य सामग्रीका विभिन्न स्टल राखिएका थिए । नेपालीबाहेक अन्य मूलका व्यक्तिहरु समेत अभिरुचिपूर्वक मेलामा सहभागी भए । कार्यक्रमको प्रमुख अतिथि अष्ट्रेलियाका लागि नेपाली राजदूत रुद्रकुमार नेपाल हुनुहुन्थ्यो । कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु पनि सहभागी थिए । कार्यक्रममा एनआरएन संरक्षक ईन्द्रा बन, एनआरएन आईसीसी सचिव रञ्जु वग्ले, ओसिनिया क्षेत्रीय संयोजक विष्णु हमाल, एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली लगायत सहभागी हुनुहुन्थ्यो । करिब १५ हजार दर्शकले मेलाको अवलोकन गरेको अनुमान छ । कार्यक्रममा गायिका कोमल ओली, ईन्दिरा जोशी आस्था राउतले आफ्नो प्रस्तुति दिएका थिए । यस्तै केदार घिमिरे, दिपकराज गिरी, दिपाश्री निरौला, विल्सनविक्रम राई लगायतको प्रस्तुतिमा दर्शकहरु रमाएका थिए । अष्ट्रेलियाका विभिन्न शहरमा हरेक दुई वर्षमा एनआरएन महोत्सव आयोजना गर्ने गरिन्छ । यसको आयोजना एनआरएन र नेपाली दूतावासले संयुक्त रुपमा गर्ने गरेको छ ।