जेठ पन्ध्रभित्र संविधान जारी गर्ने गरी वार्ता अघि बढाइनुपर्छ– नेता नेपाल
नेकपा (एमाले) का नेता माधवकुमार नेपालले आगामी जेठ १५ भित्र संविधान जारी गर्ने समयसीमासहित वार्ताको सिलसिला विभिन्न ढङ्गले अघि बढाइनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल, रासस शाखाको चौथो स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “संविधानसभाको गरिमा र औचित्यलाई बचाउन चाँडो संविधान ल्याउनाको विकल्प छैन, समय तालिकासहित जेठ १५ भित्र संविधान ल्याउने गरी वार्ता अघि बढाइनुपर्छ, त्यसका लागि न्यूनतम सहमति खोजाँै ।” पूर्वप्रधानमन्त्री नेपालले विभिन्न सङ्घर्ष र बलिदानबाट प्राप्त साझा उपलब्धिलाई संस्थागत गर्न समयमै सचेत हुन जरुरी भएको उल्लेख गर्दै लोकतन्त्रका मूल्य र मान्यतामा प्रश्नचिह्नरहित प्रतिबद्धता देखाउन एमाओवादीलाई आग्रह गर्नुभयो ।“अहिलेको उपलब्धि सबैको प्रयासबाट भएको हो, नेपाल राष्ट्रलाई केन्द्रमा राखेर जानुपर्छ, पेल्ने र दबाउने कुरा कसैले गर्नुहुँदैन, दुवै किसिमको अतिवाद त्यागेर औचित्यलाई आधार मानेर अघि बढौँ” उहाँले भन्नुभयो । सुदृढ लोकतन्त्रको जग नै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति हो भन्दै उहाँले पेसागत हक, हित र मर्यादा तथा राससको श्रीवृद्धि र दीर्घकालीन स्थायित्वका लागि यहाँका पत्रकारले आफ्नो भूमिकालाई सशक्त र प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो । एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग सचिव सूर्य थापाले रासस राष्ट्रलाई आवश्यक भएकाले नै यो अस्तित्वमा रहेको बताउँदै अहिलेको प्रतिस्पर्धी समयमा राससमा स्रोतसाधन र दक्ष जनशक्तिको विकास गरी अन्तर्राष्ट्रिय जगत्मा महत्व बढाइनुपर्नेमा जोड दिनुभयो । प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्यालले राससको आवश्यकता र औचित्यता अहिले पनि उत्तिकै सान्दर्भिकता छ भन्दै राससको भौतिक स्रोत र साधन तथा जनशक्तिलाई प्रभावकारी बनाई यसको सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन जरुरी भएको औँल्याउनुभयो । राससका अध्यक्ष कुलचन्द्र वाग्लेले विकसित प्रजातान्त्रिक मुलुकमा समाचार समितिको औचित्य, भूमिका र सान्दर्भिकता बढिरहेको सन्दर्भमा मुलुकको एक मात्र समाचार समिति राससको औचित्यतालाई राष्ट्रिय नीति निर्माणकर्ताले अनुभूत गर्नुपर्नेमा जोड दिनुभयो । राससका पूर्वअध्यक्षसमेत रहनुभएका प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष बालकृष्ण चापागाईंले राससलाई बदलिँदो परिस्थितिसँगै यसको सेवालाई गुणस्तरीय बनाएर लैजानुपर्ने औँल्याउनुभयो । कार्यक्रममा प्रेस चौतारी प्रतिष्ठानका इन्चार्ज सुरोजङ्ग पाण्डे, प्रेस चौतारी रासस शाखाका अध्यक्ष कालिका खड्का, सल्लाहकार प्रकाश सिलवाललगायतले श्रमजीवी पत्रकारको हकहितका बारेमा धारणा राख्नुभएको थियो ।
सङ्ग्रौला र भण्डारी सम्मानित, पुरस्कृत
प्रेस चौतारी रासस शाखाले यस वर्षको ‘प्रेस चौतारी रासस शाखा सम्मान–२०७१’ राससका वरिष्ठ कार्यकारी सम्पादक सरला सङ्ग्रौलालाइ र ‘प्रेस चौतारी रासस शाखा पुरस्कार–२०७१ रासस काकँडभिट्टा (झापा)का प्रतिनिधि चन्द्रकला भण्डारीलाई प्रदान गरेको छ । पुरस्कारका साथ रु पाँच हजार र ताम्रपत्र छ । चौतारी रासस शाखाको चौथो वार्षिकोत्सवका अवसरमा ती सम्मान र पुरस्कार पूर्वप्रधानमन्त्री नेपालले वितरण गर्नुभयो । सङ्ग्रौला राससमा दुई दशकभन्दा बढी समयदेखि समाचार सम्पादन र नेपाली समाचार सम्पादन शाखामा कार्यरत हुनुहुन्छ भने भण्डारी झापाको काकँडभिट्टामा स्थानीय समाचारदाताका रूपमा पाँच वर्षदेखि कार्यरत हुनुहुन्छ । पुरस्कृत व्यक्तित्व भण्डारीले आफ्नो पेसालाई थप प्रभावकारी बनाउन पुरस्कारले प्रोत्साहन मिलेको बताउनुभयो । यसअघि चौतारी रासस शाखा पुरस्कार राससका वरिष्ठ सम्पादक तीर्थप्रसाद भट्टराई र रासस नवलपरासीका समाचारदाता विद्रोही गिरीलाई प्रदान गरिएको थियो ।