उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पाण्डे पक्राउ, अदालतमा बुझाइने
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेको छ । पुरानो भ्रष्टाचार मुद्दामा आफूलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेपछि पाण्डेलाई पक्राउ गरिएको व्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक हेमन्त मल्लले जानकारी दिनुभयो । व्युरोले अदालतबाट कैद जरिवाना सजाय सुनाइएका र फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरी फैसला कार्यान्वयन महानिर्देशनालयलाई बुझाउने अभियानकै क्रममा पाण्डेलाई पनि पक्राउ गरिएको उहाँको भनाइ थियो । व्युरोले पाण्डेलाई बालुवाटारस्थित निवासबाट पक्राउ गरी महाराजगन्जस्थित व्युरोको कार्यालयमा राखेको छ । कार्यालय खुलेपछि अदालतमा बुझाइने व्युरोका प्रमुख मल्लले बताउनुभयो । अध्यक्ष पाण्डे खानेपानी संस्थानको सरकारी कर्मचारी हुँदा पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको मुद्दामा अदालतले दोषी ठहर गरेको थियो ।