लापर्वाहीका कारण बालुवा खानीमा तीन मजदूर पुरिए, उद्धार पछि उपचार हुँदै
खानी सञ्चालकको लापर्वाहीका कारण भक्तपुरको चाँगुनारायण नगरपालिका पिखेलमा सञ्चालित आगन्जा कन्सस्ट्रक्सनको बालुवा खानीमा पुरिएर तीन मजदुर गम्भीर घाइते भएका छन् । बालुवा बोक्दै गरेका मजदुर एकसय फिटभन्दा अग्लो बालुवाको ढिस्को खसेर एक महिला र दुई पुरुष मजदुर गम्भीर घाइते भएका छन् भने अन्यले भागेर ज्यान जोगाएको मजदुरले बताएका छन् । घाइते हुनेमा बा २ ख ६०५५ नम्बरको मिनिट्रकका सहचालक सिन्धुपाल्चोक बाडेगाउँका सरोज तामाङ, चितवन घरभई खानीमा बालुवा बोक्ने काम गर्दै आएका अशोक रेग्मी र चाँगुनारायण पिखेलकी बेली खत्री रहेका छन् । घाइतेको भक्तपुर सल्लाघारीस्थित ईवामुरा अस्पतालमा उपचार भइरहेको छ । बालुवाको ढिस्कोले मजदुर पुरेलगत्तै अन्य मजदुर, स्थानीय बासिन्दा र स्काभेटरले माटो पन्छाएर तत्कालै घाइतेको उद्धार गरिएको थियो । महानगरीय प्रहरी परिसद् भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले घाइतेका परिवारले घटनाका बारेमा उजुरी दिए कारबाही प्रक्रिया अगाडि बढाइने बताउनुभयो । स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरीले बालुवा खानीको तत्काल अनुगमन गरिने बताउँदै अनियमितरूपमा सञ्चालित खानीलाई कारबाही गरिने बताउनुभयो ।