ठमेलको विस्तार गरिने, नजिकैका ठाउँमा पनि पर्यटकीय सुविधा थपिँदै
राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेललाई जस्तै आसपासका क्षेत्रलाई पनि पर्यटकीयस्थलको रुपमा विकास गरिने भएको छ । पर्यटकको बढ्दो चापलाई मध्यनजर गरी ठमेल पर्यटन विकास परिषद्ले ठमेलको मुख्य चौक जस्तै आसपासका क्षेत्रलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न लागेको हो । ठमेल पर्यटन विकास परिषद्मा सर्वसम्मत रुपमा पुनः चयन हुनुभएका अध्यक्ष रामशरण थपलियाले पर्यटकीय आकर्षण ठमेल क्षेत्रको विकास विस्तारका लागि परिषद्ले कार्य योजना अघि बढाएको बताउनुभयो । “नेपालको पहिलो पर्यटकीय क्षेत्र ठमेलको विकासका लागि अहिले सरकारको उपस्थिति र सक्रियता बढेको छ । नेपाल पर्यटन बोर्ड, काठमाडौँ महानगरपालिका र विद्युत् प्राधिकरणको सहयोगमा पूर्वाधार निर्माणको काम भइरहेको छ, अब आसपासका क्षेत्रलाई पनि ठमेल जस्तै बनाउन लागेका छाँै,”–उहाँले भन्नुभयो । उहाँका अनुसार ठमेल पकनाजोलदेखि स्वयम्भूसम्म, गल्कोपाखादेखि नयाँ बसपार्कसम्म, ठहिटीदेखि कमलपोखरी र त्यहाँदेखि गौशलासम्म पर्यटकीय क्षेत्र विस्तार गर्ने योजना छ । ठमेलपछिको महत्वपूर्ण पर्यटकीय आकर्षण दरबारमार्ग क्षेत्रलाई मानिन्छ । ठमेल पर्यटन विकास परिषद अन्तर्गत अहिले १३ वटा उपसमिति छन् । ठमेल बाहिर आसपासको क्षेत्रमा थप चारवटा उपसमिति विस्तार गर्न लागिएको अध्यक्ष थपलियाले जानकारी दिनुभयो । उक्त क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन विभिन्न किसिमका महोत्सव, प्रचार प्रसारलगायतका कार्यक्रम गरिनुको साथै पूर्वाधार विकासमा जोड दिइने परिषद्ले जनाएको छ । परिषद्का अनुसार नेपाल आउने पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेल क्षेत्रमा पुग्ने गरेका छन् । नेपाल पर्यटन बोर्डको पछिल्लो विवरणअनुसार सन् २०१४ मा हवाई मार्गबाट पाँच लाख ८५ हजार ९८१ पर्यटक नेपाल आएका छन् । स्थलगत रूपमा अढाइदेखि तीन लाख पर्यटक आउने अनुमान बोर्डको छ । जुन अघिल्लो वर्षको तुलनामा ०.३ प्रतिशत कम हो । सन् २०१३ मा सात लाख ९७ हजार ६१६ पर्यटक नेपाल आएका थिए । जसमध्ये हवाई मार्गबाट मात्रै पाँच लाख ८७ हजार ८४२ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।