एसफिल्ड पार्कमा हार्मोनी डेमा झल्किएको सानो नेपाल
एसफिल्ड पार्कमा गत आइतबार २२ मार्चका दिन आयोजना गरिएको एसफिल्डस कार्निभल अफ कल्चरमा नेपाली समूदायले सक्रिय सहभागिता जनाएको छ । नेपाली समूदायको तर्फबाट बालबालिकाले छुट्टै नृत्य प्रस्तुत गरेका थिए भने जेष्ठ नागरिकहरुको तर्फबाट पनि फेशन शो गरिएको थियो । जसमा नेपाली सांस्कृतिक पहिचान झल्कने विभिन्न समूदायका पोशाक लगाएर उनीहरु उपस्थित थिए । यसरी कार्यक्रम भइरहँदा नेपाल अष्ट्रेलिया सम्पर्क समितिका संरक्षक अर्जुनमणि पौडेलभने पोशाक, नेपाल र नेपालीको विषयमा स्टेजमै उपस्थित भएर सबै दर्शकहरुलाई वर्णन गरिरहेका थिए । कार्यक्रम लगत्तै एमएनटीभीसँग कुरा गर्दै पौडेलले काउन्सिलको तर्फबाट नेपाली समूदायलाई दिइएको प्राथमिकता सकारात्मक भएको जानकारी दिए ।
कार्यक्रमको सुरुमा नेपाली समूदायका प्रतिनिधिहरुले नमस्ते बन्दनासहित नेपाली सांस्कृतिक पहिचान झल्कने पोशाक प्रदर्शन गरेका थिए । उनीहरुले यस कार्यक्रममा सहभागिता जनाउनका लागि करिब चार सातादेखि तयारी गरेका थिए । यस्तै बालबालिकाहरुले कोही पूर्व त कोही पश्चिम घर बोलको नेपाली देशप्रेमले ओतप्रोत गीतमा नृत्य गरेका थिए । जसलाई उपस्थित दर्शकहरुले रुचाएका थिए । नेपाली समूदाय एसफिल्डमा तिव्रमात्रामा विस्तार भइरहेको समूदायका रुपमा काउन्सिलले लिएको छ र यस पटकदेखि कार्निभलमा औपचारिक रुपमै निमन्त्रणा गरेका थियो । काउन्सिलले आगामी अप्रिल १४ तारिखदेखि स्थानीय पुस्तकालयमा नेपाली भाषाका किताबहरु समेत समेट्ने गरी छुट्टै तयारी गरेको छ । जसको उद्घाटन एसफिल्डका मेयर र नेपाली राजदूतले संयुक्त रुपमा गर्नुहुनेछ । यसपटकको कल्चरल मार्चमा नेपाली सहभागिताका लागि संयोजन गर्नेमध्येकै एक शिव श्रेष्ठले अन्य समूदायको प्रशंसाबाट हौसला मिलेको प्रतिक्रिया दिए । उनले बालबालिका र अभिभावकहरुलाई कार्यक्रमको निम्ति तयार गर्न नृत्य प्रशिक्षक उषा बारियाले खेलेको भूमिका अत्यन्तै अविष्मरणीय रहेको भन्दै उनको प्रशंसा गरे । नेपाली राष्ट्रिय पोशाकमा उपस्थित भएका सहभागीका कारण पनि कार्यक्रममा रौनक थपिएको थियो । केही नेपाली युवाहरु हातमा नेपालको झण्डा बोकेर कार्यक्रममा सहभागी बनेका थिए । कार्यक्रममा नेपाली खानाको स्टल पनि राखिएको थियो । विहान १० बजेदेखि साँझ ४ बजेसम्म आयोजित कार्यक्रममा नेपाली, चिनियाँ, भारतीय, ईटालियन लगायतका समूदायका विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा अष्ट्रेलियाका पूर्वउपप्रधानमन्त्री एन्थोनी एल्बानिस पनि सहभागी हुनुभएको थियो । (थप तस्वीरको लागि एमएनटीभीको फेसबुक पेजमा जानुहोला ।)