कार्यविभाजनमा सहमति जुटाउन एमाले स्थायी समितिको बैठक आज पनि बस्दै
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा एमाले स्थायी समितिको बैठक आज फेरि बस्ने भएको छ । यसअघि हिजो बसेको एमाले स्थायी कमिटीको बैठक आन्तरिक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । बैठकका लागि वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष भीम रावल र विद्या भण्डारी, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य पृथ्वी सुब्बा गुरुङ, मुकुन्द न्यौपानेलगायतका नेता निर्धारित समयमै ओली निवास पुगेपनि आन्तरिक छलफल जारी रहेको र तयारी नपुगेको भन्दै बैठक स्थगित भएको हो । महासचिव पोखरेलले सबै स्थायी कमिटी सदस्यसँग छलफल गरी सुझाव सङ्कलन गरेर प्रस्ताव ल्याउने बताउँदै न्यौपानेले पार्टीभित्रको विवाद घट्दै गएकाले अबको बैठकमा कार्य विभाजनसम्बन्धी निर्णय हुने दाबी गर्नुभयो । अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले पार्टी उपाध्यक्ष तथा गृहमन्त्री बामदेव गौतम र सचिव योगेश भट्टराई उपत्यका बाहिर रहेको र पार्टीभित्र आन्तरिक छलफल जारी रहेको बताउँदै बैठक बुधबार ११ बजेसम्मका लागि स्थगन गरिएको बताउनुुभयो । आइतबारदेखि लगातार बसेको सो बैठकमा केन्द्रीय सदस्यको कार्य विभाजनको विषयमा व्यापक छलफल भए पनि निर्णयमा भने पुग्न सकेको छैन । स्रोतका अनुसार बैठकमा कार्य विभाजनमा विवाद भएपछि निर्णयमा पुग्न नसकेको हो ।