सङ्ग्रहालय आक्रमणका संदिग्ध २३ व्यक्ति पक्राउ
ट्युनिसियाको राजधानी ट्युनिसमा अवस्थित ‘नेसनल बर्दाे म्युजियम’ सङ्ग्रहालयमा गत हप्ता भएको भीषण आतङ्ककारी आक्रमणका संदिग्ध २३ व्यक्तिलाई पक्राउ गरिएको ट्युनिसियाली प्रहरीले जानकारी दिएको छ । सो आक्रमणका संदिग्ध व्यक्तिहरूमा एक महिलासहित २३ जना पक्राउ गरिएको गृह मन्त्री नाजेक घर्साल्लीले बिहीबार पत्रकारहरूलाई बताउनुभएको छ । यस सङ्ग्रहालय आक्रमणमा परी २० विदेशी पर्यटकसहित कम्तीमा २३ व्यक्तिको मृत्यु भएको थियो । केही वर्षयता ट्युनिसियामा भएको आतङ्ककारी आक्रमणमध्येकै भीषण आक्रमणका रुपमा रहेको यस आक्रमणमा इटाली, जर्मनी, पोल्यान्ड, स्पेन र जापानबाट आएका पर्यटकहरू परेका थिए । आक्रमणको समयमा सो सङ्ग्रहालभित्र करिब एकसय पर्यटकहरू रहेका थिए ।