अष्ट्रेलियामा पनि डा. केसीको समर्थनमा प्रदर्शन हुँदै


govinda kc copy copyप्रा. डा. गोविन्द केसी यतिबेला चिकित्सा क्षेत्रमा देखिएका विकृतिलाई अन्त्य गर्ने माग गर्दै पाचौं पटक अनसनमा बसेका छन् । डा. केसीका मागका विषयमा सरकार लचिलो देखिएको छ । केही घण्टाभित्रै उनका माग पनि पूरा हुने अवस्था छ । तर, केही संवैधानिक जटिलता देखिएको भन्दै सरकारी पक्षले अहिलेसम्म सम्पूर्ण माग पूरा गर्न भने सकेको छैन । यस्तै त्रिवि पदाधिकारी र शिक्षामन्त्रीकै राजीनामा मागिएपछि सरकार अलि निस्क्रिए देखिएको छ । अर्कोतर्फ, डा. केसीको यो अभियानमा समर्थन गर्ने क्रम विश्वका विभिन्न कुनामा पनि बढेको छ । यसैक्रममा अष्ट्रेलियामा पनि यही अप्रिल ३ तारिख शुक्रबार विहान ८ बजे एसफिल्ड पार्कमा भेला भएर डा. केसीको समर्थनमा प्रदर्शन गरिने भएको छ । मौनरुपमा प्लेकार्ड बोकेर उनका मागहरुलाई तत्कालै सम्बोधन गर्न दबाब दिइने डा. घनश्याम चापागाईंले एमएनटीभीलाई बताउनुभयो । यो प्रदर्शन स्वतस्फुर्त हो, हामीले सामाजिक सञ्जाल मार्फत आह्वान गरेका छौं र उपस्थिति जनाएर ऐक्यबद्धताका लागि आह्वान गर्दछौं, डा. चपागाईंको भनाई छ । यसअघि अष्ट्रेलियामा भएका चिकित्सकहरुले पेटेशन पनि दर्ता गरेका छन् जसमा नेपालको मेडिकल शिक्षालाई व्यापारीकरण गर्नबाट रोक्न तथा विकृतिहरु अन्त्यका लागि ऐक्यबद्धता जनाउन सकिन्छ । एकातिर विश्वभरिबाट नेपालीले डा. केसीको अभियानमा समर्थन जनाइरहेका छन् भने अर्कोतर्फ सरकार र डा. गोविन्द केसीका बीचमा सहजकर्तामार्फत वार्ता पनि चलिरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?