डा. गोविन्द केसीको समर्थनमा सिड्नीमा प्रदर्शन
सिड्नीको एसफिल्ड पार्कमा भेला भएका नेपालीहरुले डा. गोविन्द केसीले उठाएका जायज मागको समर्थन गर्दै तिनलाई पूरा गर्नेतर्फ लाग्न सबैलाई आग्रह गरेका छन् । चिकित्सा सेवा र शिक्षामा देखिएका विकृतिको अन्त्यका निम्ति १२ दिन अनसन बसेपछि अप्रिल २ तारिखमा सरकारसँग लिखित सम्झौता गरी आफ्नो अनसन अन्त्य गरेका डा. केसीको समर्थनमा दबाबमूलक प्रदर्शन गर्ने कार्यक्रम सम्झौता अघि नै तय गरिएको थियो । तर, अप्रिल २ तारिखका दिन बिहीबार सहमति भएपछि यस कार्यक्रमलाई समर्थन प्रदर्शनमा रुपान्तरण गरिएको हो । यस जमघटको अभियन्तामध्येका एक डिला खरेलले दिएको जानकारी अनुसार कार्यक्रममा सहभागीहरुले उनले नेपालमा देखाएको बाटोले देशमा परिवर्तन सम्भव छ, भन्ने कुरालाई पुष्टि गरेको बताएका थिए । साथै, डा. केसीले लिएका अडानबाट आम नेपाली नागरिकहरुको निम्ति स्वास्थ्य र शिक्षामा सहज पहुँच हुने अपेक्षा पनि गरिएको बताइएको छ । सहभागीहरुले डा. केसी हामी साथमा छौं भन्ने प्लेकार्ड बोकेका देखिन्थ्यो । खरेलले भने, मुख्यतः सहमति भइसकेपछि कार्यक्रम नै नगर्ने कि भन्ने पनि सोचका थियौं । तर, कतिपय साथीहरुलाई सहमतिको जानकारी नहुने र कार्यक्रमस्थलमा आउँदा निरास बन्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै हामीले दबाबमूलक प्रदर्शनलाई समर्थन जमघटमा परिणत गरेका हौं । कार्यक्रममा एनआरएन आईसीसी सचिव रञ्जु वाग्ले, गायक ईश्वर पोखरेल, व्यवसायी मेघराज श्रेष्ठ, किरण थापा लगायत उपस्थित थिए ।