सिड्नीमा देशको सकारात्मक दृश्य प्रस्तुत गरे अर्थमन्त्री डा. महतले


dr mahatअर्थमन्त्री डा. रामशरण महतले तत्कालै सहमति भएका विषय समेटेर संविधान जारी गर्ने र सहमति नभएका विषयलाई छलफल गर्दैरहनुपर्ने बताउनुभएको छ । संक्रमणकालको छिटो अन्त्य अहिलेको आवश्कयता भएको उहाँको भनाई छ । नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै देशमा गर्व गर्न लायक परिवर्तन भएको उहाँले बताउनुभयो । कमी कमजोरी भएपनि देशले २०४६ सालपछि महत्वपूर्ण उपलब्धी हासिल गरेका छौं, महतले भन्नुभयो । १२ वर्षे माओवादी जनयुद्धका क्रममा स्थिति भयावह भएको, २०६३ सालको परिवर्तनपछि नै ७ वर्षमा ७ वटा सरकार परिवर्तन भइसकेको भन्दै यस्तो अस्थिरताकाबीचमा पनि मुलुकमा प्रगति हासिल गर्न सक्नु प्रशंसनीय विषय भएको उहाँको भनाई छ । कसैले पनि निरास हुनुपर्ने अवस्था नरहेको भन्दै अर्थमन्त्री डा. महतले २०४८ सालमा १३ अर्बको राजश्व उठ्ने अवस्थाबाट अहिले ५ सय अर्ब राजश्व संकलन हुने गरेको बताउनुभयो । यस्तै, नेपालीको सरदर आयु ५४ वर्षबाट ६९ वर्ष पुगेको भन्दै जीवनस्तर, स्वास्थ्य सेवाको पहुँचमा आएको सुधारका कारणले नै उसको आयु बढेको हो र, यही विकास हो, यही प्रगति हो डा. महतको भनाई छ । अहिले ६९ प्रतिशत जनताको घरमा विद्युत पहुँच पुगेको पनि विकासकै एउटा चरण भएको डा. महतको धारणा थियो । आपूmहरुले अघि सारेको खुल्ला बजार अर्थनीतिका कारण नै यस्तो विकास सम्भव भएको उहाँले दाबी गर्नुभयो ।
बजेटमा युवालाई प्राथमिकता
गतवर्षको बजेटमा युवा उद्यम बृद्धिका लागि सुरुवाती पूँजीको व्यवस्था गरिएको र यो केही साताभित्रै ऐन बनेर कार्यान्वयन आउने अर्थमन्त्री महतले बताउनुभयो । यसपछि आईडिया हुने तर पूँजी नहुने युवाहरु लाभान्वित हुने बताउनुभयो । कृषिमा आधुनिकीकरण गर्नका लागि ६ प्रतिशत व्याजमा ऋण दिने व्यवस्था गरिएको र यसले युवाहरु लाई नै लक्षित गरेको उहाँको भनाई छ । युवा केन्द्रित रहेर नै आगामी दिनमा बजेटमा विभिन्न कार्यक्रम थप गरिने पनि डा. महतले जानकारी दिनुभयो ।
जनसम्पर्कको विषयमा बोल्दिन
म विवादमा फस्न आएको होइन भन्दै डा. महतले जनसम्पर्क समिति अष्ट्रेलियाको विषयमा केही नबोल्ने बताउनुभयो । आन्तरिक विवाद र झगडालाई आफैं बसेर मिलाउन र यसका सम्बन्धित नेतासँग परामर्श गर्न पनि डा. महतले सल्लाह दिनुभयो । स्मरणीय छ, नेपाली जनसम्पर्क समिति अष्ट्रेलियामा विवाद भएका कारण यसले पूर्णता पाउन सकेको छैन ।
हुन्डीबाट पैसा नपठाउनुस्
अहिले अष्ट्रेलियाबाट नेपाल जाने रेमिट्यान्स बैंकिंग च्यानलबाट नगएकोमा चिन्तित बनेको भन्दै डा. महतले वैधानिक बाटोबाट कारोबार गर्न पनि आग्रह गर्नुभयो । नेपाली बैंक आईएमईको प्रतिनिधि कार्यालय खुलेको अवस्थामा नेपालमा अष्ट्रेलियाबाट जाने रेमिट्यान्स वैधानिक बाटोबाट जानुपर्ने उहाँको भनाई थियो । आईएमईका अध्यक्ष चन्द्र ढकालसँगै उपस्थित हुनुभएका अर्थमन्त्री महतले अवैधानिक बाटोबाट रकम पठाउँदा त्यसले देशको अर्थतन्त्रलाई नै असर पार्ने धारणा राख्नुभयो ।
तपाईंहरु मिल्नुहोस्
अन्त्यमा डा. महतले विदेशमा रहेका नेपालीहरु चाहे जुनसुकै राजनीतिक पृष्ठभूमिका भएपनि, जुनसुकै पार्टीका भएपनि मिलेर नेपालको निम्ति काम गर्न र अघि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा सिड्नीमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले छलफलमा सहभागिता जनाएका थिए ।
(हेर्नुहोस् डा. महतको मन्तव्य)

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?