ऐतिहासिक पारमाणविक सम्झौताको तेहरानमा प्रशंसा, इजरायलमा विरोध
इरानका पारमाणविक वार्ताकार विश्वका शक्ति मुलुकसँग सम्भावित ऐतिहासिक संरचनागत सम्झौतामा पुगी तेहरान फर्कदा शुक्रबार उहाँहरूका समर्थकहरूले स्वागत गरेका छन् भने इजरायलले यो निकै डरलाग्दो पाइला भएको चेतावनी दिएको छ । इजरायली प्रधानमन्त्री नेतान्याहुले यस विषयमा इजरायली प्रतिक्रिया तयार गर्न सुरक्षा प्रमुखहरूको बैठक बोलाउनुभएको छ भने इरानी जनता आफ्ना सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको प्रतिक्रिया सुन्न प्रतिक्षारत छन् । इरान तथा विश्वका प्रमुख छ शक्ति मुलुकबीच इरानको पारमाणविक प्रयास रोक्ने उद्देश्यले बिहीबार एक सम्झौताको संरचनामा सहमति भएको छ । यसलाई इरान तथा पश्चिमी मुलुकबीच गत १२ वर्षसम्म कायम अवरोध हटाउन प्रमुख सफलताको रूपमा लिइएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले इस्लामिक गणतन्त्रसँग ऐतिहासिक सहमति भएकोमा स्वागत गर्नुभएको छ । अमेरिकाको यस मुलुकसँग दशकौँदेखि शत्रुता रहेको थियो । उहाँले अन्य नेताहरूले झैँ जुन ३० सम्म अति नै जटिल सम्झौता गर्न बाँकी रहेको बताउनुभएको छ । इरानमाथि उसको पारमाणविक महत्वाकाँक्षाका कारण लगाइएको प्रतिबन्धले अर्थतन्त्रलाई प्रभावित बनाएको छ भने धेरै यसबाट प्रभावित भएका छन् । यहाँ हर्षको परिस्थिति देखिएको छ । सहमतिको घोषणा भएपछि तेहरानका सडकमा सयौँ इरानी जनता खुसीले उत्रिएका थिए भने चालकहरूले राजधानीको सबैभन्दा लामो सडक भाल–ए–अस्र एभेन्युमा हर्न बजाएर यस सम्झौताको स्वागत गरेका थिए । स्विजरल्यान्डको लुजान नगरमा वार्तापछि तेहरान आइपुग्दा इरानी विदेशमन्त्री मोहमद जाभेद जरिफ तथा उहाँका समूहलाई विमानस्थलमा शुभेच्छुकले स्वागत गरे । विमानस्थलमा विदेशमन्त्री जरिफले सर्वोच्च नेता खामेनीले वार्ता टोलीलाई दिनुभएको समर्थन तथा निर्देशनका लागि धन्यवाद दिनुभएको आधिकारिक इर्ना समाचार संस्थाले उल्लेख गरेको छ । उहाँले हालसम्म सम्झौता अन्तिम अवस्थामा नपुगेको र अन्तिम दस्तावेज तयार गर्ने अधार तय भएको बताउनुभयो । जरिफ विमानस्थलबाट घर फर्कदा धेरैले उहाँलाई स्वागत गरेका थिए र उनीहरूले इरानी झण्डा बोकेका थिए । यस विषयमा सर्वोच्च नेता खामेनीको भनाइ अन्तिम मानिन्छ । यस सम्झौतामा इरानको पारमाणविक कार्यक्रम कटौती गर्ने र इरानमाथि लगाइएको प्रतिबन्ध हटाउने व्यवस्था गरिएको छ ।