अब श्रीलंका पनि आणविक ऊर्जाको बाटोमा


automicश्रीलङ्का तथा पाकिस्तानबीच आणविक ऊर्जाका साथमा छवटा सम्झौतामा हस्ताक्षर भएको दुई मुलुकका नेताले बताएका छन् । रणनीतिक रूपमा महत्वपूर्ण रहेको श्रीलङ्काले आफ्नो पहिलो पारमाणविक संयन्त्र स्थापना गर्ने योजना बनाएको छ । यी सम्झौताका विस्तृत विवरण तत्कालै उपलब्ध भएको थिएन । श्रीलङ्काले फेब्रुअरी महिनामा भारतसँग आणविक ऊर्जाका आधारभूत संरचना तथा कर्मचारीलाई तालिमका विषयमा एक सम्झौतामा हस्ताक्षर गरेपछि यी कुरा सार्वजनिक भएका हुन् । श्रीलङ्काली नयाँ राष्ट्रपति मैत्रीपाला सिरिसेना जनवरी महिनामा शासनमा पुग्नुभएको हो । उहाँले महिन्दा राजापक्षेको एक दशकको शासन अन्त्य गरिदिनुभएको थियो । हाल उहाँले आफ्नो मुलुकमा चीनको प्रभाव घटाउन थाल्नुभएको छ । यस्तो प्रभावबाट भारत क्रुद्ध भएको थियो । उहाँ तीनदिने भ्रमणमा आइतबार पाकिस्तान आइपुग्नुभएको हो । यसले कोलम्बोको विदेश नीतिमा थप केही परिवर्तन भएको सङ्केत दिन्छ कि भनी पर्यवेक्षकहरूले चासो दिएर हेरेका छन् । पाकिस्तान तथा श्रीलङ्काबीच विशेष गरि प्रतिरक्षाका विषयमा बलियो सम्बन्ध रहेको छ । इस्लामाबादले सन् २००९ मा श्रीलङ्कामा अन्त्य भएको तमिल टाइगर छापामारविरुद्धको युद्धमा सैनिक सहयोग उपलब्ध गराएको थियो । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफसँग एक पत्रकार सम्मेलनमा श्रीलङ्काली राष्ट्रपति सिरिसेनाले दुवै मुलुक उपनिवेशबाट स्वतन्त्र भएको र उनीहरू स्वतन्त्रतापछिको इतिहासको गम्भीर अवस्थामा रहेको बताउँदै एक अर्काका सहयोगी भएको उल्लेख गर्नुभयो । उहाँले श्रीलङ्काको आतङ्कवाद विरुद्धको युद्धमा पाकिस्तानले दिएको बलियो समर्थनका लागि आफू कृतज्ञ भएको बताउनुभयो । उहाँले आफूहरूले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहमतिमा छलफल गरेको तथा प्रकोप व्यवस्थापन, खेलकुद, सामुद्रिक यातायात, आणविक ऊर्जा, लागु पदार्थ तथा शैक्षिक सहयोगका विषयमा छवटा सम्झौतामा हस्ताक्षर गरेको बताउनुभयो । पाकिस्तानसँग हाल तीनवटा पारमाणविक ऊर्जा संयन्त्र रहेका छन् र त्यहाँबाट ७४० मेगावाट ऊर्जा उत्पादन हुन्छ । हाल उसले थप दुईवटा यस्ता संयन्त्रमा काम गरिरहेको छ । यसमा कराचीबाट ४० किलोमिटर पश्चिममा अरेबियाली सागरको प्याराडाइज बिचमा चिनियाँ प्राविधिक सहयोगमा हाल निर्माण भइरहेको दुई हजार २०० मेगावाटको ऊर्जा उत्पादन केन्द्र पनि रहेको छ । यसअघि पाकिस्तानी प्रधानमन्त्री सरिफले दुई मुलुकबीच व्यापार तथा अर्थतन्त्रका क्षेत्रमा सम्बन्ध सुधार गर्ने चाहना व्यक्त गर्नुभएको थियो । यस भ्रमण अवधिमा श्रीलङ्काली राष्ट्रपति सिरिसेनाले पाकिस्तानी समकक्षी मामनुन हुसेनसँग पनि भेट गर्नुहुने बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?