सिरियाली द्वन्द्वमा गत चार वर्ष सरदर दैनिक १ सय ५० जनाको ज्यान गएको तथ्यांक सार्वजनिक
गत चार वर्ष अगाडिदेखि सिरियामा राष्ट्रपति बसार अल–असादको विरोधमा भएको जनविद्रोहमा हालसम्म दुई लाख २० हजार व्यक्तिको मृत्यु भएको जानकारी प्रमुख अनुगमनकारी संस्थाले बिहीबार दिएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्देल रहमानले सन् २०११ को मार्चदेखि आरम्भ भएको विद्रोहमा दुई लाख २२ हजार २७१ व्यक्तिको मृत्यु भएको गणना गरिएको बताउनुभयो । बेलायतमा केन्द्रीय कार्यालय रहेको अब्जरभेटरीले सिरियामा भएको द्वन्द्वको विषयमा सूचना सङ्कलन गर्न व्यापक रूपमा स्रोत सञ्जाल उपयोग गरेको छ । अब्देल रहमानले मर्नेमा ६७ हजार व्यक्ति सामान्य नागरिक भएको र त्यसमा ११ हजार बालबालिका परेको बताउनुभयो । मर्नेमा ४७ हजार सरकार समर्थक लडाकू परेको र तीन हजार विदेशी लडाकू परेको बताइएको छ । विदेशी लडाकूमा पनि करिब ७०० लेबनानको सिया हेजबोल्ला आन्दोलनको योद्धा भएको बताइएको छ । उनीहरू राष्ट्रपति असादका प्रमुख समर्थकका रूपमा रहेका छन् । यस द्वन्द्वमा ४० हजार सरकार विरोधी लडाकूको मृत्यु भएको र २८ हजार विदेशी जिहादीको मृत्यु भएको बताइएको छ । विदेशी जिहादीहरू सिरियाको युद्धमा संलग्न हुन आएका छन् र उनीहरूले इस्लामिक स्टेट समूहका लागि युद्ध गरिरहेका छन् । साथै उनीहरूले अल–कायदा तथा अल नुस्र फ्रन्टका लागि पनि युद्ध गरिहेका छन् । यसमा हराइरहेका २० हजार व्यक्तिको नाम संलग्न छैन । अब्जरभेटरीले आफूले सबै मृत्यु गणना गर्न नसकेको भनी मर्ने व्यक्तिको सङ्ख्या निकै बढी हुनसक्ने उल्लेख गरेको छ ।