चीनले समुद्रको बीचमै कृत्रिम द्वीपमा विमानस्थल बनाएपछि तनाव बढ्ने संकेत


chinaविवादास्पद दक्षिणी चीन जलक्षेत्रमा एक कृत्रिम द्वीपमा चीनले द्रुत रूपमा विमानस्थल बनाइरहेको हालै खिचिएको स्याटलाइट चित्रमा देखिएको र यसले दक्षिणपूर्वी एसियाली छिमेकीबीच तनाव बढ्नसक्ने सम्भावनायुक्त समाचार प्राप्त भएको छ । स्पार्ट्ली द्वीपको फायरी क्रसमा चीनले भूमि दाबी कार्य आरम्भ गर्दा समुद्रको बीचमा चट्टान जस्तो देखिएको र सन् २०१४ मा त्यसलाई द्वीपमा परिवर्तन गर्ने कार्य आरम्भ भएको समाचारमा बताइएको छ । डिजिटलग्लोबले गत साता लिएको तथा वासिङटनस्थित सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज (सीएसआईएस) ले आफ्नो वेबसाइटमा राखेको नयाँ स्याटलाइट चित्रमा उक्त विमानस्थल करिब ३.१ किलोमिटर लामो देखिएको त्यसको एकतिहाइ भाग सम्पन्न भएको उल्लेख गरिएको छ । उक्त चित्रमा यो विमानस्थल सम्पन्न भएमा त्यहाँ चीनले चाहेको कुनै पनि प्रकारको विमान अवतरण गर्न सकिने समाचारमा उल्लेख गरिएको छ । उक्त चित्रमा त्यहाँ निर्माण आरम्भ हुनुअगाडि दक्षिणी चीन जलक्षेत्रमा पुग्न चीनसँग इन्धन पुनः भर्ने तथा आपूर्ति गर्ने क्षमता नभएको उल्लेख गरिएको छ । चित्रमा हालसम्म निर्माण नभए पनि फायरी क्रसले चिनियाँ विमान राख्ने सुविधा उपलब्ध गराउनसक्ने उल्लेख गरिएको छ । चार साता भन्दा कम अवधि अगाडि लिइएको उक्त चित्रमा ४६८ तथा २०० मिटरका दुई भागको निर्माण भइरहेको देखाइएको सीएसआईएसले उल्लेख गरेको छ । यसले उक्त निर्माणको गति स्पष्ट हुने बताइएको छ । बुधबार प्रतिरक्षासम्बन्धी पत्रिका आईएचएस जेनको समाचारमा एयरबस डिफेन्स एन्ड स्पेसले मार्च २३ मा लिएको चित्रमा ती निर्माणकार्य ५०० मिटर लामो तथा ५० मिटर चौडा भएको उल्लेख गरिएको छ । चीनले सन् १९४० को दशकमा प्रकाशन गरेको चिनियाँ नक्साका आधारमा सम्पूर्ण दक्षिणी चीन जलक्षेत्र आफ्नै भएको दाबी गरेको छ र यसमा उसको दक्षिणपूर्वी एसियाली अनेकौँ छिमेकीसँग विवाद रहेको छ । स्पार्टली द्वीप समूहलाई फिलिपिन्स तथा भियतनामले पनि आफ्नो भएको दाबी गरेका छन् । उक्त क्षेत्रमा द्वीप निर्माण गर्ने र त्यसमा भौतिक संरचना स्थापना गर्ने कार्यले त्यस क्षेत्रमा चीनको दाबीलाई थप बल दिने प्रयासको रूपमा हेरिएको बताइएको छ । फायरी क्रसलाई बेइजिङमा योङसु, मनिलामा कागितिनान तथा हनोइमा दा चु थाप भनिन्छ । यस महिना सीएसआईएसको वेबसाइटमा प्रकाशित चित्रमा चिनियाँ जहाजहरूको समूहले मिसचिफ रिफमा बालुवा फैलाइरहेको देखाइएको छ । समुद्रको उक्त चट्टान फिलिपिन्सको दक्षिणपश्चिमी द्वीप पालावानबाट करिब १०० किलोमिटर पर रहेको र चीनको प्रमुख भूमिबाट १००० किलोमिटर पर रहेको बताइएको छ । भियतनाम, फिलिपिन्स तथा मलेसियाले पनि स्पार्ट्लीमा आफ्नो दाबी गर्दै त्यहाँ सैनिक तैनाथ गरेका छन् र उनीहरूले त्यहाँ सन् १९७० देखि विमानस्थल बनाइरहेका छन् । फिलिपिन्सका प्रतिरक्षा मन्त्रालयका प्रवक्ताले शुक्रबार उक्त विमानस्थलले फिलिपिन्सका लागि वातावरणीय, कूटनीतिक तथा प्रतिरक्षामा प्रभाव पार्ने बताउनुभयो । उहाँले यस विषयमा थप जानकारी दिनुभएन । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होङ लीले शुक्रबारको जानकारीमा चीनको द्वीप निर्माण कार्य यी द्वीप, चट्टानको सुधार कार्यका लागि भएको र त्यसले त्यस द्वीपमा कामदारको अवस्था सुधार्ने बताउनुभयो । उहाँले यस्तो कार्य खोजी तथा उद्धार कार्य सुधार गर्ने, वातावरण संरक्षण गर्ने, सामुद्रिक क्षेत्रको सुरक्षा गर्ने तथा माछामार्ने क्रियाकलापलाई सुरक्षित बनाउने उद्देश्यले गरिएको बताउनुभयो । भियतनामका विदेशमन्त्रालयका प्रवक्ता ले हाइ बिनले बिहीबार हनोइको अनुमति नलिइ स्पाट्र्लीमा अन्य मुलुकले गर्ने निर्णय कार्य पूर्णतया गैरकानुनी तथा आधारहीन भएको बताउनुभयो । गत नोभेम्बरमा अमेरिकाले फायरी क्रस परियोजनामा विमानस्थल बन्ने कार्य रहनसक्ने चेतावनी दिएको थियो । सैनिक प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जेफ्री पुलले चीनलाई भूमि दाबी कार्यक्रम रोक्न र सबै पक्षसँग कूटनीतिक प्रक्रियामा संलग्न हुन आग्रह गर्नुभएको थियो । चीनको उक्त क्षेत्रमा पाइलाले सम्भावित सैनिक द्वन्द्वको आशङ्का यस क्षेत्रमा फैलनसक्ने चेतावनी फिलिपिन्सका राष्ट्रपति बेनिग्नो अक्विनोले मङ्गलबार दिनुभएको थियो भने त्यसलाई बेइजिङले तत्कालै आधारहीन बताएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?