न्यू साउथवेल्समा खराब मौसम, हुरीका कारण तीन जनाको ज्यान गयो
अष्ट्रेलियाको न्यू साउथवेल्स राज्यका विभिन्न भागमा मौसम खराब हुँदा र हावाहुरी चल्दा तीन जनाको ज्यान गएको छ । न्यूक्यासनभन्दा उत्तरतर्फको डंगोंग क्षेत्रमा १ सय ३५ किलोमिटर प्रतिघण्टाको दरमा आएको हुरीका कारण यस्तो क्षति भएको हो । न्यू साउथवेल्सका प्रिमियर माई बेयर्डले डुंगोंग क्षेत्रमा ज्यान गुमाएका तीन जना नै जेष्ठ नागरिकहरु रहेको जानकारी दिएका छन् । न्यू साउथवेल्सको हन्टर षेत्र र सेन्ट्रल कोस्टमा मात्रै २ लाखभन्दा बढी घर विजुलीविहीन भएका छन् भने आपतकालीन सेवाका लागि ४ हजार ५ सयले फोन गरेको प्रशासनले जानकारी दिएको छ । गत २४ घण्टामा १ सय १९ मिलिमिटर पानी परिसकेको जानकारी मौसम विभागले दिएका छ । यो सन् २००२ पछिको सबैभन्दा ठूलो वर्षा हो । मौसम विभागका अनुसार मुख्यत मध्यउत्तरी तटीय क्षेत्र, हन्टर र ईलावारा क्षेत्रमा बढी सतर्कता अपनाउन आवश्यक छ । यहाँ २ सय मिलिमिटरसम्म वर्षा हुने र १स य किलोमिटरको गतिमा हावाहुरी आउने अनुमान गरिएको छ । न्यूक्यासल र सिड्नीबीचको रेलसेवा बन्द गरिएको छ भने केही सडकहरुमा पनि विजुलीको पोल र रुख ढलेका कारण अबरुद्ध भएका छन् । प्रशासनले अत्यावश्यक नपरी घर बाहिर ननिस्कन स्थानीयलाई आग्रह गरेको छ ।