शान्तिपूर्ण र सम्बृद्ध दक्षिण एशिया चीनको सधैं चासो राष्ट्रपति जिनपिङ


china presidentचिनियाँ राष्ट्रपति सि जिनपिङले चीन सधैँ पाकिस्तानकै पक्षमा रहेको र पाकिस्तान चीनको एक घनिष्ठ छिमेकी रहेको धारणा राख्नुभएको छ । उहाँले चीन र पाकिस्तानका नागरिक सधैँजसो एकसाथ अघि बढ्ने गरेको भन्दै आगामी दिनमा पनि यसरी एकसाथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको पाकिस्तानको राजधानी इस्लामावादबाट प्राप्त समाचारमा जनाइएको छ । हाल पाकिस्तानको भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सि जिनपिङले मङ्गलबार सो धारणा राख्नुभएको हो । मङ्गलबार पाकिस्तानी संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति जिनपिङले सो धारणा राख्नुभएको हो । उहाँले पाकिस्तान चीनको एक विश्वासिलो छिमेकी राष्ट्र हो भन्दै यी दुई देशको आपसी विश्वास र पारस्पारिक सहयोगमा आगामी दिनको सम्बन्ध आधारित रहने उहाँले बताउनुभयो । पाकिस्तानले आतङ्कवादविरुद्धमा गर्नुपरेको सङ्घर्षको प्रशंसागर्दै उहाँले चीन सधैँ पाकिस्तानले गर्नुपरेको आतङ्कवाद विरोधी सङ्घर्षको पक्षमा रहेको र सक्दो रुपमा सघाइरहेको पनि बताउनुभयो । चीन सधैँ पाकिस्तानको क्षेत्रीय अखण्डताको पक्षमा रहेको भन्दै चीन र पाकिस्तानले विगत लामो समयदेखि नै एकले अर्कालाई आवश्यकताका आधारमा सहयोग गर्दै आएको पनि राष्ट्रपति जिनपिङले बताउनुभयो । संसदलाई सम्बोधन गर्ने क्रममा चिनियाँ राष्ट्रपति जिनपिङले पाकिस्तानले अफगानिस्तानको आतङ्कवाद नियन्त्रणका लागि चालेको सिर्जनात्मक कदममा सधैँ सहयोग गरिरहेको बताउनुभयो । राष्ट्रपति जिनपिङ्ले चीन पाकिस्तानको एक ठूलो छिमेकी देश हो भन्दै शान्तिपूर्ण र समृद्ध दक्षिण एसिया नै चीनको चासो हो भन्नुभयो । चिनियाँ राष्ट्रपति सि जिनपिङ दक्षिण एसियाको दोस्रो ठूलो देश पाकिस्तानको भ्रमणका लागि सोमबार त्यहाँ पुग्नुभएको हो । पाकिस्तानमा यो उहाँको पहिलो औपचारिक भ्रमण हो । उहाँले पाकिस्तानका लागि चीन सरकारका तर्फबाट आर्थिक सहायताको पनि बाचा गर्नुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?