मौसम चेतावनी हट्यो, न्यू साउथवेल्सको मौसम सुधारतर्फ, सफाईको काम सुरु
न्यू साउथवेल्स राज्यमा चार जनाको ज्यान जानेगरी भएको मौसमको प्रहार अब विस्तारै मत्थर हुन थालेको छ । यससँगै राज्यका अपतकालीन उद्धार संयन्त्रहरुले चेतावनीहरु फिर्ता लिएका छन् । र सरसफाईको कामलाई तिव्रता दिन थालिएको छ । अहिले विस्तारै पानी कम पर्न थालेको भएपनि हन्टर भ्यालीलगायतका केही ठाउँमा कैयौं घरहरु प्रभावित छन् । यसबीचमा गत चार दिनदेखि लगातार परेको पानी र यसले आएको बाढी तथा हावाहुरीका कारण चार जनाले ज्यान गुमाएका छन् भने कैयौं विस्थापित भएका थिए । राज्यका विभिन्न १२ ठाउँलाई प्राकृतिक प्रकोप क्षेत्र तोकिएको थियो । आपतकालीन सेवामन्त्री डेभिड ईलियोटले क्षतिको पूर्ण विवरण प्राप्त नभइसकेको बताउनुभएको छ । १० हजारभन्दा बढी विजुलीका पोलहरु भाँचिएको र १ लाख ९० हजार घरमा अझै पनि विजुली प्रवाह हुन नसकेको उहाँले तथ्यांक दिनुभयो । छिटोभन्दा छिटो विजुली नभएका घरहरुमा विजुली पुराउने योजनामा उद्धारकर्मी जुटेका छन् । यस्तै जर्ज रिभरमा बढेको पानीको सतहका कारण विस्थापित बनेकाहरुलाई पुनः घरमा फर्काउनका लागि तथ्यांक संकलनको कार्य समेत भइरहेको छ । सरकारले चेतावनी हटाएपनि अझै केही उत्तरी तटीय क्षेत्रमा भने जोखिम कायम नै रहेको मौसम विभागले जनाएको छ ।