एनआरएन राहत र उद्धारमा सहभागी बन्ने, विश्वभरबाट देशका लागि जुट्न घलेको आह्वान
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नेपालमा आएको भूकम्पमा उद्धार र राहतका लागि आफ्नोतर्फबाट १ करोड र श्रीमती जमुना गुरुंगको तर्फबाट १ करोड गरी २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । त्यस्तै एनआरएन उपाध्यक्ष भवन भट्टले पनि १ करोड रुपैयाँ उपलब्ध गराउने जानकारी गराउनुभएको छ । महासचिव कुमार पन्तले १० लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ । यससँगै विभिन्न देशका एनआरएन शाखाहरुले पनि सहयोग संकलनलाई अघि बढाउने र नेपालमा सघाउने तयारी गरेका छन् । शनिबार बसेको एनआरएन केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष शेष घलेको नेतृत्वमा भूकम्प पीडित राहत सहयोग समिति बनाएको छ । जसमा सबै राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष र आईसीसीका सदस्यहरु समेत रहने छन् । यो समितिको संख्या ३ सय हुनेछ । एनआरएनले आर्थिक रुपमा मात्र नभइ स्वयं समेत सहभागी भएर उद्धार र पुनस्र्थापनाको काममा सघाउने जनाएको छ । एनआरएन अष्ट्रेलियाले तत्काल यस विषयमा परामर्श गर्दै आवश्यक जुनसुकै सहयोग गर्न पनि तयार रहेको जनाएको छ भने मेलबर्नमा आज सम्पन्न हुन लागेको नेपथ्य लाईभ कन्सर्टबाट आउने सबै आम्दानी भूकम्प पीडितहरुको निम्ति दिने घोषणा यसको मेलबर्न संस्करणको आयोजक यति फुटबल क्लबले गरेको छ । यस बाहेक पनि थप २ हजार डलर सहयोग गर्ने घोषणा उक्त क्लबले गरेको छ । अर्कोतर्फ मेलबर्नमा रहेका नेपाली डाक्टर र नर्सहरुको संस्थाले नेपालमा टोली पठाउने तयारी गरेको छ ।