अष्ट्रेलियामा राष्ट्रिय आपतकालीन सहयोग समिति गठन, सहयोगका लागि टोली नेपाल जाने
देशमा १८ सय भन्दा बढीको ज्यान जानेगरी आएको भूकम्पमा परी राष्ट्रिय संकटको अवस्था उत्पन्न भएपछि विदेशमा रहेका नेपालीहरु सहयोगका लागि सक्रिय बन्न थालेका छन् । यसैक्रममा अष्ट्रेलियामा पनि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्को आपतकालीन बैठक आज विहान बसेको छ । उक्त बैठकले एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीको नेतृत्वमा राष्ट्रिय आपतकालीन सहयोग समिति गठन गर्ने निर्णय गरेको छ । यस समितिमा अष्ट्रेलियामा रहेका सम्पूर्ण संघ संस्थाका अध्यक्ष सदस्य रहने छन् । त्यस्तै राजदूतावास र महावाणिज्यदूतावासका प्रतिनिधि पनि रहने भएका छन् ।
यसैगरी एनआरएन अष्ट्रेलियाले भूकम्प विज्ञहरु र नर्स डाक्टरहरुको एउटा टोली शिघ्र नेपाल पठाउने निर्णय समेत गरेको छ । जसको नेतृत्व एनआरएन ओसियाना क्षेत्रीय संयोजक विष्णु हमालले गर्नुहुने भएको छ । त्यस्तै यस राष्ट्रिय विपत्तिको समयमा आवश्यक पर्ने उद्धार सामग्री, लत्ता कपडा, टेन्ट आदिको जाहो गर्ने र त्यसलाई नेपालसम्म पुर्याउनका एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष स्वतन्त्रप्रताप शाहको संयोजकत्वमा अर्को टिम निर्माण गरिएको छ । आपतकालीन समयमा उद्धार र राहतका निम्ति आर्थिक सहयोग संकलन गर्नका लागि एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष गोबा कटवालको नेतृत्वमा आर्थिक सहयोग र संकलन टोली निर्माण गरिएको छ । यसले अष्ट्रेलियाभर सहयोग गर्न चाहनेहरुबाट आर्थिक संकलन जुटाउनेछ । केन्द्रीकृत रुपमा आर्थिक संकलन अभियान चलाउने तयारी यसले गरेको संयोजक गोबा कटवालले एमएनटीभीलाई जानकारी गराउनुभयो ।
सहयोग रकम एनआरएन अष्ट्रेलियाको एकाउन्टमा रकम जम्मा गर्न सकिनेछ ।
BSB 032006
Acc # 595128
Westpac Bank
यसैबीच, एनआरएन अष्ट्रेलियाले आफ्नो कोषबाट तत्काल १० लाख रुपैयाँ भूकम्प पीडितको राहत र उद्धार कार्यका निम्ति प्रदान गर्ने निर्णय समेत गरेको छ । यस्तै न्यू साउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्काको नेतृत्वमा अष्ट्रेलियन सरकार, यहाँका दातृ निकायहरु, खोज तथा उद्धार टोलीहरुसँग सम्पर्क र समन्वयका लागि पहल गरिने भएको छ ।