अष्ट्रेलियन नागरिकलाई मृत्युदण्ड दिएपछि राजदूत फिर्ता बोलाउने प्रधानमन्त्री एबोटको निर्णय
अस्ट्रेलियाली दुई नागरिकसहित सात विदेशीलाई मृत्युदण्ड दिइएकोमा इन्डोनेसियाली सरकारले आफ्नो निर्णय सही ठह¥याएको छ र लागु औषधविरुद्ध यो उसको प्रमुख युद्धको एक भाग भएको दाबी गरेको छ । यसबीच मृत्यृदण्ड पाउनेले आफ्नो मृत्यअगाडि भजन गाएको समाचार प्राप्त भएको छ । मध्यरातमा दिइएको उक्त मृत्युदण्डको विरोधमा अस्ट्रेलियाली सरकारले आफ्नो राजदूत फिर्ता बोलाएको छ । गैरकानुनी रूपमा लागुपदार्थ ओसारपसार गर्नेविरुद्ध आफूले कानुनी राज्य प्रयोग गरेको इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोले बताउनुभएको छ । मृत्युदण्ड पाएका व्यक्तिमा अस्ट्रेलियाका दुई, ब्राजिलका एक, अफ्रिकाका चार नागरिक रहेको बताइएको छ । उनीहरूलाई गोली हानी मृत्युदण्ड दिने समूहले मारेको बताइएको छ । मृत्युदण्ड पाउनेमा एन्डोनेसियाका एक नागरिक पनि परेका छन् । यी व्यक्तिहरूलाई माफी दिन विदेशी सरकार तथा यी व्यक्तिका परिवारका सदस्यले निकै आग्रह गरेका थिए । ब्राजिलले आफ्नो नागरिकलाई मृत्युदण्ड दिएकोमा गहिरो खेद व्यक्त गरेको छ । यी नागरिक मानसिक रूपमा बिरामी भएको उनका परिवारले बताएका छन् । ब्राजिल सरकारले आफूले लिने अर्को पाइलाको विषयमा विचार गरिरहेको बताइएको छ । मृत्युदण्ड पाउने व्यक्तिलाई गोली हान्ने समूहले वनतर्फ लैजाँदा आफ्नो आँखामा पट्टी बाँध्न अस्वीकार गरेको र उनीहरूले ‘‘आश्चर्यजनक कृपा’’ (अमेजिङ ग्रेस) शीर्षकको भजन गाएको उनीहरूसँग गएका एक पादरीले बताए । नुसाकामबाङगान द्वीपमा रहेको कारागारमा जाने बाटोमा सिलकाप बन्दरगाहमा मध्यरात अगाडि बढ्दै गर्दा यी व्यक्तिका समर्थकको एक समूहले उक्त भजन गाए र एक अर्कालाई अङ्गालोमा बाँधेर मैनबत्ती जलाए । मृत्यदण्ड दिइएपछि यी व्यक्तिका परिवार रोएको देखिएको थियो र उनीहरूलाई उनीहरूका मित्र तथा समर्थकले लगेका थिए । फिलिपिन्सका मृत्युदण्ड पाएका एक नागरिकलाई आफूले लागुपदार्थ बोक्न झुक्याएको भनी एक महिला फिलिपिन्समा प्रहरीसमक्ष आएपछि निजको मृत्युदण्ड रोकिएको छ । इन्डोनेसियाका महान्यायाधीवक्ता मुहमद प्रासेत्योले म्यारी जेन भेलोसोको मृत्युदण्ड प्रहरी अनुसन्धानका लागि हाल पछाडि सारिएको बताउनुभयो । उहाँले इन्डोनेसिया हाल लागुपदार्थविरुद्धको डरलाग्दो युद्धमा रहेको र त्यसले मुलुकको अस्तित्वलाई चुनौती दिएको बताउनुभयो । उहाँले मृत्यदण्ड सुख दिने र आनन्दको कार्य नभएको बताउनुभयो । उहाँले आफ्नो मुलुकलाई लागुपदार्थको खतराबाट जोगाउन यस्तो कार्य गर्नुपरेको, आफूहरूले यी व्यक्तिका मुलुकलाई शत्रु बनाउन नचाहेको र आफूहरू लागुपदार्थको अपराधसँग युद्ध गरिरहेको बताउनुभयो । अस्ट्रेलियाले आफ्नो नागरिकको जीवन जोगाउन निरन्तर प्रयास गरेको थियो र प्रधानमन्त्री टोनी एबोटले मृत्युदण्ड क्रूर र अनावश्यक भएको बताउनुभयो । अक्टोबरमा शासनमा पुग्नुभएका राष्ट्रपति विडोडोले इन्डोनेसियाले लागुपदार्थको बढ्दो प्रयोगको आपत्कालमा रहेको बताउनुभएको छ । उहाँले लागुपदार्थ नियन्त्रण गर्ने राष्ट्रिय संस्थाले दिएको तथ्याङ्कलाई उल्लेख गर्दै आफ्नो मुलुकमा प्रतिदिन ३० व्यक्ति यसका कारण मर्ने गरेको जानकारी दिनुभएको छ । संयुक्त राष्ट्र सङ्घको मानवअधिकारका लागि उच्चायुक्तका कार्यालयका प्रवक्ता रूपर्ट कोलभिलले एक विज्ञप्ति प्रकाशन गरी मृत्युदण्डको कार्य निकै दुःखपूर्ण भएको उल्लेख गर्नुभएको छ ।