सिड्नीको मुटु मार्टिन प्लेसमा द्रविभूत भएको मन


Australia 1जिन्दगीको भर छैन, कतिबेलासम्म हो, कतिबेला उठ्ने हो कसैलाई पत्तो हुँदैन । तर, यिनै आफ्ना आफन्तजनको बिदाईमा भने ठूलो पीडा हुन्छ । यो पीडालाई सहन झन कठीन हुन्छ । यतिबेला नेपालमा महाभूकम्पको विपत्तिमा करिब ८ हजारले ज्यान गुमाएका छन् । धेरै अहिले पनि अस्पतालमा दिन बिताइरहेका छन् । योभन्दा पनि धेरै त यतिबेला त्रासै त्रासको जिन्दगी बाँचिरहेका छन् । उनीहरुलाई हिजो उद्धारको आवश्यकता थियो, आज राहतको र भोलि पुनस्र्थापनाको । जब आफन्तजन आँशुमा डुबेका हुन्छन् तब कुनै सुरक्षित ठाउँमा रहनेहरुको मन थीर हुँदैन । बेचैन भइरहन्छ । यस्तै भएको छ यतिबेला अष्ट्रेलियामा रहेका नेपालीहरुलाई पनि । उनीहरु, घरी नेपाल फोन गर्छन् घरी यहाँ राहत र उद्धारका लागि संकलन गरिएको खातामा पैसा जम्मा गर्छन् त घरी घरी विभिन्न समाचार साईटहरु खोजीरहन्छन् । केही नयाँ आएको छ कि ? हो, यस्तै पीडाकाबीच अष्ट्रेलियाको सिड्नीमा नेपाली समूदायका प्रतिनिधिहरुले एकै ठाउँमा भेला भएर दीप प्रज्वलन गर्दै सम्झिएका छन् दिवंगतहरुलाई अनि कामना गरेका छन् घाइतेको शिघ्र स्वास्थ्यलाभको ।
शुक्रबार अष्ट्रेलियाको सिड्नीका नेपालीहरुले गत वैशाख १२ गते भएको भूकम्पमा परी दिवंगत हुनुभएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै मैनबत्ती बालेर प्रार्थना गरे । न्यू साउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूतको कार्यालय र गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको संयुक्त आयोजनामा सिड्नीको मुटु मानिने मार्टिन प्लेसमा भेला भएको कार्यक्रममा बोल्दै अष्ट्रेलियाको प्रतिपक्षी दलकी उपनेता तान्या प्लीर्वस्कले हजारौं आफन्तजन गुमाएका नेपालीहरुलाई हाम्रो साथ र सहयोग आवश्यक छ भन्दै अष्ट्रेलियाको सहयोग निरन्तर रहने बताउनुभयो । नेपालका दुर्गम ठाउँसम्म राहत लैजान कठिनाई भएको आपूmलाई जानकारी रहेको भन्दै उहाँले पुननिर्माणको चरणसम्म पनि सहयोग गर्ने बताउनुभयो । न्यू साउथवेल्स राज्यका प्रिमियरका प्रतिनिधि सयाने मल्लार्डले दुःखको यो घडीमा नेपाली मूलका अष्ट्रेलियन नागरिक र नेपाली नागरिकहरुलाई एकताबद्ध भएर सहयोगमा जुट्न आह्वान गर्नुभयो । यस्तै न्यू साउथवेल्सका लागि प्रतिपक्षी नेता लुक फोलीले यो विपदको घडीमा नेपालीका साथ सदैव रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा स्यान ओ ब्राईन रकडेल सिटी काउन्सिलका मेयर, मेम्बर अफ पार्लियामेन्ट जुलिया फिन, निक बार्बरी, न्यू साउथवेल्सका लागि भारतीय अवैतनिक महावाणिज्यदूत अरविन्दर एस रंगा, हिन्दू काउन्सिल अफ अष्ट्रेलियाका Australia 1bअध्यक्ष डा. निहाल अगर लगायतले पनि श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।
न्यू साउथवेल्सका लागि अवैतनिक नेपाली महावाणिज्यदूत दिपक खड्काले अष्ट्रेलियनहरुबाट प्राप्त सहयोग र सद्भाव अभूतपूर्व भएको बताउनुभयो । दुःखको यो घडीलाई नवनिर्माणमा परिणत गर्नु आजको आवश्यकता भएको उहाँको भनाई छ । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले अहिलेसम्म अष्ट्रेलियामा मात्रै भूकम्प पीडितहरुको निम्ति ५ करोड रुपैयाँभन्दा बढी सहयोग संकलन भइसकेको बताउँदै एनआरएन केन्द्रीय समितिको संयोजनमा अष्ट्रेलियाका ३० भन्दा बढी स्वयंसेवक भूकम्प पीडितको सेवामा रहेको पनि उल्लेख गर्नुभयो । अझै धेरै साथीहरु स्वयंसेवाका लागि स्वदेश जान तयार हुनुहुन्छ, अध्यक्ष ओलीको भनाई छ । हामी खुसीमा मात्र होइन दुःखमा पनि साथै छौं, एक नेपालीलाई दुख्दा अर्को नेपाली चुप लागेर बस्न सक्दैन भन्ने भावनाका साथ सबैले सक्रियतापूर्वक सेवाभावले काम गरिरहेको भन्दै अध्यक्ष ओलीले अष्ट्रेलियाको नेपाली समूदायको प्रशंसा गर्नुभयो । एनआरएन अष्ट्रेलियाले दूतावास, महावाणिज्यदूतको कार्यालयसँगको समन्वयमा सहयोग संकलन अभियान जारी राखेको छ । यसअघि अष्ट्रेलियाकै अन्य शहर डार्विन, पर्थ, एडिलेड, मेलबर्न, ब्रिसबेन लगायतमा पनि एनआरएन अष्ट्रेलिया र अन्य नेपाली सामूदायिक संघसंस्थाको सहकार्यमा भूकम्पमा परी ज्यान गुमाउनेहरुको आत्माको शान्तिको कामना गर्दै दिप प्रज्वलन गरिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?