१० हजारभन्दा बढी परिवारलाई एनआरएनले दियो राहत, पहिलो चरणको राहत वितरण सफल
गैरआवासीय नेपाली संघ एनआरएनएले अहिलेसम्म भूकम्प पीडितको राहत र उद्धारमा भएको कामको समिक्षा गर्दै अघि बढ्ने तयारी गरिरहेको जनाएको छ । अध्यक्ष शेष घलेले सार्वजनिक गर्नुभएको यस्तो योजनापत्रमा नेपालका ३५ वटा जिल्ला र १५ सय गाविस प्रभावित भएको जनाइएको छ । यस्तै १ लाख ६० हजार घरहरु क्षति भएको, मृतकको संख्या १० हजारसम्म पुग्नसक्ने र २ सय भन्दा बढी पराकम्पन आइसकेको अवस्थाको चित्रण गरिएको छ । राहत योजना अन्तर्गत २८ अप्रिलमा निर्माण गरिएको राहत कमिटीमार्फत आवश्यक रहेकाहरुलाई मानवीय सहायता र राहत उपलब्ध गराउने लेखिएको छ । एनआरएनले दुई साता लामो आपूmहरुको कार्यबाट १० हजार परिवार लाभान्वित भएको पनि जनाएको छ । एनआरएनले भूकम्पबाट अति प्रभावित तोकिएका गोर्खा, लमजुंग, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, रसुवा, रामेछाप र धादिंगमा आपूmलाई केन्द्रित गरेको छ । पहिलो चरण अन्तर्गत अस्थायी बास, टेन्ट पाल एक परिवारलाई एकको दरमा, खाना कम्तिमा पनि एक साताको लागि पर्याप्त हुने, दुईवटा कम्बल प्रतिपरिवारका दरले वितरण गरेको छ । स्वास्थ्यशिविरहरु आवश्यक रहेका ठाउँहरुमा बनाई भूकम्प पीडितको सहयोग गरेको पनि एनआरएनले जनाएको छ । यसरी पहिलो चरणको कार्य सम्पन्न हुनै लाग्दा फेरि आएको पराकम्पनले ल्याएको स्थितिको मूल्यांकन गरिएको पनि अध्यक्ष घलेले सार्वजनिक गर्नुभएको योजनामा जनाउनुभएको छ । पहिलो चरणको कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सरकार र सरकार मातहतका नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै घलेले १२ जिल्लामा १४ हजार त्रिपाल, १० टन चिउरा, १०० टनभन्दा बढी चामल, २० हजार कम्बल, १ लाख ७१ हजार प्याकेट चाउचाउ वितरण गरिसकिएको तथ्यांक पनि सार्वजनिक गर्नुभयो । यस्तै १० वटा विभिन्न मेडिकल क्याम्पमा १० हजारभन्दा बढी घाइतेहरु लाभान्वित भएका थिए । एनआरएनले यसअघि घोषणा गरे अनुरुप एक हजार घर निर्माणका लागि ३५ करोड रुपैयाँ आवश्यक हुने भन्दै घलेले ७० भन्दा बढी मुलुकबाट प्राप्त भएको सहयोग रकम यसमा खर्च गरिने जनाउनुभएको छ । पहिलो चरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाउ दिँदै अध्यक्ष घलेले पछिल्लो भूकम्प पछिको स्थितिको मूल्यांकनपछि फेरि अघि बढ्ने योजनाका जानकारी गराउने पनि बताउनुभयो ।
Click below for Complete Report