चिनियाँ राष्ट्रपतिलाई अमेरिकाको निम्तो दिँदै फर्किए विदेशमन्त्री केरी
चिनियाँ राष्ट्रपति सि जिनपिङ्ग र अमेरिकी विदेशमन्त्री जोन केरीबीच बेइजिङ्गमा भेटवार्ता भएको छ । उहाँहरुबीच आगामी सेप्टेम्बरमा चिनियाँ राष्ट्रपतिको अमेरिकाको भ्रमणको विषयमा पनि छलफल भएको जनाइएको छ । राष्ट्रपति सि जिनपिङ्ग र अमेरिकी विदेशमन्त्री जोन केरीबीच भएको सो छलफलको क्रममा गत वर्षको नोभेम्बरमा अमेरिकीराष्ट्रपति बाराक ओबामाको चीन भ्रमणको पनि स्मरण समेत गरियो । भेटका क्रममा चिनियाँ राष्ट्रपतिले अमेरिकासँगको सम्बन्ध विविध समस्याका बाबजुद पनि स्थीर रहेको बताउनुभएको थियो । यसअघि सि र ओबामाबीच भएको वार्तामा दुई देशबीचको प्रमुख सम्बन्धलाई सामुहिक कल्याणलाई ध्यानमा राखी नयाँ नमुना बनाउने तय भएको थियो । चीनको ग्रेट हल अफ द पिपुल्स्मा आइतबार सि र केरीबीच भएको भेटवार्तामा राष्ट्रपति सिले चीन र अमेरिकाबीचको सम्बन्ध समग्रमा सन्तुलित रहेको विचार व्यक्त गर्नु भएको छ । सि र केरीबीचको छलफलको क्रममा नयाँ व्यापार र लगानी आदिको विषयमा पनि वार्ता भएको जनाइएको छ । आगामी सेप्टेम्बरमा चिनियाँ राष्ट्रपतिले गर्न लाग्नुभएको अमेरिका भ्रमणको अमेरिकी राष्ट्रपति ओबामा प्रतिक्षामा रहनुभएको र सो समयमा द्वीपक्षीय सम्बन्धका प्रमुख पक्षहरुमा सम्झौता हुने अनुमान गरिएको समेत केरीले बताउनुभएको छ । त्यसैगरी सिको भ्रमणको तयारीको लागि अमेरिकाले पनि सँगसँगै कार्य गर्ने पनि केरीले बताउनुभएको छ ।