चोरले ब्ल्याकटाउनमा घर फोरेर लाग्यो सुनदेखि लगाएका कपडासम्म
दक्षिण एशियालीहरु, अझ भारतीय र नेपाली समूदायका व्यक्तिको बाक्लै बसोबास रहेको अष्ट्रेलियाको सिड्नीस्थित ब्ल्याक टाउन क्षेत्रमा दिनदहाडै २५ हजारभन्दा बढी डलरको सामान चोरी भएको छ । ब्ल्याक टाउनमा एक नेपालीको घरमा यस्तो चोरी हुँदा चोरहरुले प्रयोग गरेको शैलीले धेरैलाई अचम्मित तुल्याउन सक्छ । विकास राना (नाम परिवर्तन) अष्ट्रेलिया आएको सात वर्ष भइसकेको थियो । उनले कैयौं सपना देखे अष्ट्रेलियामा । यसैमध्येको एक सपना थियो आफ्नै घर किन्ने । ब्ल्याक टाउन एरियामा घर किन्ने हैसियतमा पुगेपछि उनले स्ट्राथफिल्डबाट बसाई सरे र त्यहाँ आपूmसहित श्रीमतीको भाई बुहारी र अर्को एकजनासँग जीवनको यात्रा अगाडि बढाउन थाले । उनीहरुसबैजना काम गर्न जान्थे । तर, कोही न कोही घरमा हुन्थ्यो नै । तर, शनिबार संयोग यस्तो परेछ कि सबैजना काममा जानुपर्ने भयो । शनिबार, पे पनि त डबल आउँछ नि । यही सोचेर शायद उनीहरुले घरमा एकजना रहनुपर्छ भन्ने हेक्का राखेनन् । विहान करिब १० बजेतिर घर खाली भइसकेको थियो । सबैजना आफ्नो गन्तव्इमा लागिसकेका थिए । तर, यो कोही नभएको घर चोरका लागि भने मौकामा चौका बन्न पुग्यो । उनीहरु आए, घरको पछाडिको ढोकाको सीसा काटे र त्यहाँबाट हात छिराएर उनीहरुले ढोका खोले । यसपछि आरामसँग उनीहरु घरमा भएका बहुमूल्य सामग्रीको खोजी गर्न थाले । उनीहरुलाई थाहा थियो यो घर नेपालीको हो, अनि, नेपाली गरगहनाका शौखिन हुन्छन् । 10 तोला जतिको त उनीहरु तिलहरी नै लगाउँछन् । अनि, कम्तिमा २ तोलाको झुम्का र अन्य । यस्तै सोच्यो शायद त्यो चोर समूहले पनि । तर, सबै आनीबानी, आउने समय जाने समयका बारेमा अध्ययन गरिसकेको टोलीले आरामसँग त्यहीँको सुटकेश झिकेर यसमा सामान भर्न थाल्यो । उनीहरुले यति धेरै आरामका साथ सारा सामान चोरी गर्न सफल भए । यो चोरीमा २० हजार डलरको सुनसहित २५ हजार डलरको चोरी भएको यतिबेला विकास बताउँदैछन् । यहीँ अष्ट्रेलियामा आइसकेपछि बिहे गरेका उनले श्रीमतीका लागि गहगहना किनिदिएका थिए । जुन अब चोरी भइसकेको छ । कुनै सुरक्षाको उपाय अपनाइएको थियो त ? विकासले भने, अहँ, यस्तो होला भन्ने सोचेकै थिएन । नत्र सीसीटीभी क्यामेरा त लगाइन्थ्यो होला । यस घटनाले नेपाली समूदायलाई सचेत बन्न र आफ्नो बारेमा अरुले के सोचिरहेको छ, के योजना बनाइरहेको छ भन्ने बारे चनाखो बन्न सजग गराएको छ ।