इस्लामिक स्टेटले रमादी नियन्त्रण,सयौँ विरोधीको कत्लेआम


ramadiइस्लामिक स्टेटका लडाकूले इराकको रमादी नगरलाई नियन्त्रणमा लिँदा करिब ५०० नागरिक तथा सैनिकको हत्या गरेको र आठ हजार व्यक्तिलाई उनीहरुको घर छोडी भाग्न बाध्य बनाएको जानकारी एक प्रान्तीय अधिकारीले सोमबार दिए । यसबीच यी कट्टरपन्थी लडाकूले घरघर गई प्रहरी तथा सरकारसमर्थक आदिवासीको खोजिगरिरहेको बताइएको छ । इराकी सरकार तथा इरान समर्थित लडाकूले प्रत्याक्रमण गरी रमादीलाई पुनः नियन्त्रणमा लिने दृढता व्यक्त गरेका छन् । रमादी अनबर प्रान्तको केन्द्र हो । इरानका प्रतिरक्षामन्त्री जनरल होसिन देघान इराकी नेताहरुसँग तत्कालै वार्ता गर्न बग्दाद पुग्नुभएको छ । इन्टरनेटमा राखिएका भिडियोहरुमा सैनिक गाडी, ट्रक तथा अन्य उपकरण रमादीबाट बाहिर गइरहेको र सैनिक पनि सुरक्षित स्थलतर्फ गइरहेको देखाइएको छ । शुक्रबारदेखि यस नगरलाई नियन्त्रण गर्ने युद्ध अन्तिम चरणमा पुगेको थियो र अनबर प्रान्तीय सरकारका प्रवक्ता मुहनाद हेमुरले नागरिक र सैनिक गरी ५०० व्यक्तिको मृत्यु भएको जानकारी दिए । यो सङ्ख्याको स्वतन्त्ररुपमा पुष्टि हुनसकेको छैन । इस्लामिक स्टेटका लडाकूले विगतमा पनि कुनै ठूलो विजय हासिल गर्दा सयौँ नागरिक तथा सैनिकको हत्या गर्ने गरेका थिए । कुनै बखत आठ लाख ५० हजार जनसङ्ख्या भएको रमादीमा हाल कति जनसङ्ख्या बाँकी छ भन्ने कुरा स्पष्ट भएको छैन । यहाँ सङ्घर्ष आरम्भ भएपछि यहाँका जनता पलायन भएको बताइएको छ भने संयुक्त राष्ट्र सङ्घले रमादी र छिमेकी गाउँबाट करिब एक लाख १४ हजार नागरिक पलायन भएको अनुमान गरेको छ । रमादीमा आईएससँग युद्ध गर्ने सुन्नी आदिवासी नेता नाइम अल–गाउडले केही जलेको शव सडकमा छरिएर रहेको र केही नदीमा फ्याँकिएको देखिएको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?