एनआरएन अष्ट्रेलियामार्फत नेपालमा भूकम्प पीडितलाई सहयोग अभियान जारी


event1एनआरएन अष्ट्रेलियाले मात्रै एनआरएनको भूकम्प सहयोग कोषमा ५ करोडभन्दा बढी सहयोग गरिसकेको छ । अष्ट्रेलियाभरि रहेका विभिन्न संघ संस्था र आफ्नै सञ्जाल मार्फत प्राप्त भएको रकमलाई वास्तविक भूकम्प पीडितसम्म पुर्याउने अभियान जारी रहेको एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले जानकारी दिनुभयो । यसका लागि एनआरएन संरक्षक ईन्द्रा बन, न्यू साउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्का, एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष गोबा कटुवाल, एनआरएन ओसिनिया क्षेत्रीय संयोजक विष्णु हमाल र एनआरएन अष्ट्रेलियाका अध्यक्ष समेत रहेको एक समन्वय र सहयोग समिति निर्माण गरिएको छ । यही समितिले अष्ट्रेलियाका विभिन्न संघ संस्थासँग समन्वय र सम्पर्क गरी सहयोगलाई व्यवस्थित रुपमा वास्तविक पीडितसम्म पुर्याउने कार्यमा केन्द्रित गरेको छ । अध्यक्ष ओलीका अनुसार पूर्णतः पारदर्शी रुपमा संकलित रकमलाई विभिन्न किस्तामा एनआरएन आईसीसीको नेपालस्थित खातामा पठाइएको छ । ४ लाख ४७ हजार अष्ट्रेलियन डलरभन्दा बढी पठाई सकेको सहयोग संकलन अभियानमा सक्रियतापूर्वक लाग्नुभएका एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष गोबा कटुवालले बताउनुभयो । एनआरएन अष्ट्रेलिया राहतपछिको पुनस्र्थापनाको चरणमा समेत सक्रियतापूर्वक लाग्ने उहाँले बताउनुभयो । उहाँका अनुसार भूूकम्प पीडितको सहयोगका लागि अष्ट्रेलियामा रहेका विभिन्न सरकारी निकायहरुसँग समेत समन्वय गर्ने कार्य भइरहेको छ । यसैक्रममा आगामी २७ मे का दिन न्यू साउथवेल्सको संसदको स्ट्रेन्जर फंक्सन सेन्टरमा एक विशेष कार्यक्रम हुँदैछ । कार्यक्रममा नेपाललाई माया गर्ने अष्ट्रेलियाका सरकारी सेवामा रहेका व्यक्तित्वका साथै नेपाली समूदाय पनि सहभागी बन्नेछन् । यसैबीच, अष्ट्रेलियामा भूकम्प पीडितको सहयोगका लागि विभिन्न गतिविधि भइरहेका छन् । अष्ट्रेलियाको प्रविधि, शिप र दक्षता नेपालमा भूकम्प पीडितको सहयोगमा परिचालन गर्ने उद्देश्यले आगामी मे ३१ तारिखका दिन अष्ट्रेलियाको राजधानी क्यानबेरामा बृहद कार्यशाला आयोजना हुने भएको छ । यस कार्यशालामा नेपालको पुननिर्माणका लागि आवश्यक पर्ने प्रविधि र योजनाका विषयमा छलफल हुनेछ । एनआरएन अष्ट्रेलियन क्यापिटर टेरोटेरीले आयोजना गरेको कार्यक्रमबाट निकालिने निष्कर्शलाई नेपालको पुननिर्माणको क्रममा प्रयोग गर्ने आयोजक समितिका सीताराम घिमिरेले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?